पाँचखालको ठुली सामुदायिक वनमा दुई जनाको कंकाल फेला

जेठ २१, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा दुई जनाको कंकाल फेला परेको छ ।

जेठ २० गते बिहान वनमा रुखमा झुण्डिएको अवस्थामा सडेगलेका दुईवटा कंकाल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, फेला परेका कंकालमध्ये एक जना सशस्त्र प्रहरी बल नम्बर १५ गण काभ्रेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक शक्ति राम रहेको पुष्टि भएको छ । अर्की मृतक कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी महिला रहेको प्रहरीले जनाएको छ ।

शक्ति राम वैशाख १९ गते बिदामा निस्किएपछि सम्पर्कविहीन भएका थिए भने ती महिला पनि वैशाख १८ गते उनलाई भेट्न काभ्रे आएको परिवारले जनाएको थियो । दुवैको मोबाइल फोन बन्द भएपछि परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।

मोबाइल लोकेशन, कल डिटेल र अन्य प्राविधिक माध्यमबाट अनुसन्धान गर्दै गएको प्रहरीले खोजतलासकै क्रममा वनमा कंकाल फेला पारेको हो । मृतकहरूले लगाएका कपडा तथा साथबाट बरामद कागजातका आधारमा आफन्तले पहिचान गरेका हुन् । दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.