असोज १९, काठमाडौंँ । पन्ध्रौँ आवधिक योजनाको अवधारणा पत्रमा युवाका अधिकार तथा उनीहरूको परिचालन जस्ता कुरालाई समेट्नुपर्ने बताइएको छ ।
आवधिक योजना निर्माण भइरहेको सन्दर्भमा युवासँग सम्बन्धित् नीति तथा कार्यक्रममा आधारित रहेर युवाको क्षमता विकास, सशक्तीकरण, मूल प्रवाहीकरण, सहभागिता, परामर्श र परिचालनलाई समावेश गर्न जोड दिइएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा बिहीबार विभिन्न राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील युवासँग १५ औँ योजनामा के के विषय समावेश गर्ने भन्नेबारे छलफल गरियो ।
युवाका लागि अधिकार, विकास र परिचालन सम्बन्धी नीतिगत, कानूनी, संरचनागत र संवैधानिक सुनिश्चितता, उद्यमशीलता र रोजगारीका पर्याप्त सम्भावना भएको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलगायतका अवसर आवश्यक भएकाले यसको उपयोगमा युवा क्रियाशील हुनुपर्ने औँल्याइएको थियो । श्रम बजारको आवश्यकता अनुसारको सीप र सीपअनुसारको रोजगारीबीच तालमेल गर्नुपर्ने, उत्पादनशील युवाको वैदेशिक रोजगारमा आकर्षण, सामाजिक, आर्थिक रुपान्तरणका लागि युवा सहभागिता र परिचालन, युवा उद्यमशीलताका लागि लगानीमैत्री वातावरण सिर्जना लगायतका चुनौतीका विषयमा छलफल गरिएको थियो ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले १५औं योजनाको मूल मर्ममा युवालाई समेट्दै युवा क्षेत्रमा काँचुली फेर्ने गरी काम गर्न आवश्यक रहेको बताए । उनले वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म युवाको बाटो तय गर्न कानूनको मस्यौदा बनिरहेको उल्लेख गर्दै भने –“गाउँ नगर युवा सञ्जाल निर्माणको काम भइरहेको छ ।” राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख नारायणकृष्ण श्रेष्ठले समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई सार्थक बनाउन युवाको भूमिका महत्वपूर्ण भएको जोड दिँदै परिवर्तित सन्दर्भमा युवाको संलग्नताबाट मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने बताए । युवा तथा खेलकूद मन्त्रालयका सूचना अधिकारी महेन्द्र पौडेलले युवालाई अवसर र सम्भावना देखाउँदै वित्तीय पहुँच स्थापित गरी श्रमको सम्मान गर्ने संस्कृति र सकारात्मक सोचको विकास गर्ने उद्देश्य सरकारको रहेको स्पष्ट पारे ।

