जेठ ५, काठमाडौं । विदेशी युवतीलाई गर्भवती बनाएर छाडेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की विवादमा तानिएका छन् ।
दुवै सँगै हिँडडुल गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका हुन् । विवाद बाहिर आएपछि उनी प्रतिनिधिसभा बैठकमा पनि उपस्थित भएका छैनन् । रास्वपा संसदीय दलका एक पदाधिकारीका अनुसार, बाहिर आएका विषयमा बुझ्न भोलि संसदीय दलमा कार्कीलाई बोलाइएको छ । ती पदाधिकारीले भने, “उहाँलाई भोलि संसदीय दलमा बोलाइएको छ । त्यसबारे सोधपुछ गरेपछि कसरी अघि बढ्ने तय हुन्छ ।”
सांसद कार्कीले भने आफूमाथि लागेको आरोपबारे केही थाहा नभएको दाबी गर्छन् । बाहिर सार्वजनिक भएको भिडियो र आरोप के हो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा आफूलाई थाहा नभएको बताएका हुन् ।
सिंहदरबार क्षेत्रमै भेटिएका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै कोट र टिसर्ट माथि उचालेर छाती देखाउँदै भने, “म तपाईंहरूलाई एउटा कुरा देखाउँछु क्या । कहाँनेर मेरो ट्याटु छ ?” कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सांसद हुन् ।
संसदमै उठ्यो प्रश्न
कार्कीको विषयमा मंगलबारको प्रतिनिधिसभा बैठकमै प्रश्न उठेको छ । प्रतिनिधिसभा सांसद निनुकुमारी कर्णले रास्वपाका सांसद कार्कीमाथि लागेको आरोपबारे संसद्लाई जानकारी गराउन माग गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सांसद कार्कीको नाम नलिइकन नाइजेरियन महिलाले आफूलाई गर्भवती बनाएर सांसद बेपत्ता भएको भन्दै खोजी गरिरहेको बताइन् ।
“एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेकी छन् । एउटा विदेशी महिलालाई प्रेम जालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जालझेलमा पारेर फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?” उनले भनिन् ।
उनले नारीको मनमा गम्भीर प्रश्न उठेको बताइन् । “पीडित महिलाले न्याय पाउनुपर्छ । दोषी भए कारबाही हुनुपर्छ । सरकारसँग यस विषयमा यथाशीघ्र संसद्लाई जानकारी गराउन माग गर्छु,” उनले भनिन् ।
आजको संसद् बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले प्रश्न उठाएकी छन् । उनले सांसद कार्कीमाथि छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरेकी छन् ।
जेनजी मुभमेन्टले गर्यो पक्राउको माग
जेनजी मुभमेन्टले सांसद कार्कीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । मुभमेन्टले विज्ञप्ति जारी गर्दै सांसद कार्की सिंहदरबार आगजनीमा संलग्न रहेको र विदेशी महिलालाई गर्भवती बनाएर छोडेको भन्दै पक्राउको माग गरेको छ ।
“सांसद कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसमेत सार्वजनिक रूपमा उठिरहेको छ । यो विषयमा निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्,” विज्ञप्तिमा भनिएको छ ।
तिनको माग छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो । यस्तो कार्यमा संलग्न जनप्रतिनिधिलाई पक्राउ गरी कानुनबमोजिम कारबाही होस् ।”

