चैत ८, ललितपुर । हायर ग्राउन्ड नेपाल (Higher Ground Nepal) द्वारा आयोजित फन रन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा २,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय महिला महिना (International Women’s Month ) को अवसरमा आयोजना गरिएको ५ किलोमिटर फन रन/वाकले विभिन्न उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै महिला सशक्तिकरण, समावेशिता, समानता र सामाजिक एकताको सन्देश प्रवाह गरेको छ। कार्यक्रमले लैङ्गिक असमानता न्यूनीकरण तथा सामाजिक र संरचनात्मक अवरोधहरू हटाउने विषयमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो।
सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा ललितपुर महानगरपालिकाकी उप–मेयर मञ्जली शाक्य बज्राचार्य उपस्थिति रहेका थिइन । सहभागीहरूले ललितपुरका भानिमण्डल, ठाडोढुंगा, सानेपा लगायतका क्षेत्र हुँदै ५ किलोमिटर दूरी पार गरी Jawalakhel Football Ground मा नै समापन गरेका थिए। सहज र समथर मार्गका कारण परिवार, युवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा Jawalakhel Wheelchair Sports Club र Nirmala Foundation को सहकार्यमा ह्वीलचेयर दौड आयोजना गरिएको थियो। साथै Blind Rocks का सेतो छडी प्रयोगकर्ता सहभागीहरूले पनि कार्यक्रममा भाग लिँदै समावेशिताको सशक्त सन्देश दिएका थिए। कार्यक्रमको सुरुवात Titan Zumba Fitness द्वारा सञ्चालित उर्जावान वार्म-अप सत्रबाट गरिएको थियो। दौडपछि Blind Rocks द्वारा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै कार्यक्रममा महिला उद्यमी तथा सामुदायिक साझेदारहरूका स्टलहरू, बालबालिकाका लागि खेल क्षेत्र तथा फेस पेन्टिङ जस्ता गतिविधिहरू पनि समावेश गरिएको थियो।
आयोजकले कार्यक्रममा देखिएको उत्साहजनक सहभागिता र समुदायको सक्रियता प्रति सन्तुष्टि व्यक्त गरेका छन्। “फन रन २०२६ को सफलता लैङ्गिक समानता र सामाजिक समावेशिताप्रति बढ्दो सचेतना र सामूहिक प्रतिबद्धताको प्रतिविम्ब हो,” आयोजक संस्थाका प्रतिनिधिहरूले बताएका छन्। कार्यक्रमबाट संकलित रकम Nepal Cancer Support Group, डुकुछापका बालबालिकाका लागि छात्रवृत्ति, वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम कार्यक्रमहरू, र ललितपुरका महिला समूहहरूलाई सहयोग गर्न प्रयोग गरिनेछ। कार्यक्रममा पुरुष, महिला, १८ वर्षमुनि, १८ वर्षमाथि तथा ह्वीलचेयर विधामा विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
सन् २०१५ देखि सुरु भएको Higher Ground फन रनमार्फत हालसम्म १०,००० भन्दा बढी सहभागीहरू समेटिएका छन्। सन् २००६ मा स्थापना भएको Higher Ground Nepal ले शिक्षा, परामर्श तथा सामाजिक–आर्थिक सहयोगमार्फत विशेषगरी महिला, बालबालिका र युवाहरूको सशक्तिकरणमा निरन्तर काम गर्दै आएको छ।

