देश जलाउनेले देश बनाउने पार्टीको झन्डा जलाए – एमाले

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाएको घटनाप्रति भर्त्सना गरेको छ । बिहीबार (फागुन ७) राति दाङको तुलसीपुरमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाएको घटनाप्रति भर्त्सना गरेको हो ।

एमालेको आमनिर्वाचन २०८२ का प्रेस संयोजक प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लाखौँ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्‍याउने गरी ‘सूर्य’ चिह्न अंकित झन्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ । यो अराजकता, उद्दण्डता र आपराधिक घटनाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरूद्धको अपराधजन्य कार्य रहेको एमालेको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीले फागुन २१ को चुनाव ‘देश जलाउने र बनाउने’ बीचको जनमत संग्रह हो भनिरहेकै बेला उनै देश जलाउनेहरूले देश बनाउने नारा अघि सारेको एमालेको आस्थाको पुञ्ज ‘सूर्य’ ध्वजावाहक झन्डा जलाएको घटना संयोग मात्रै होइन ।”

देश जलाउनेहरूबाटै एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन रहेको एमालेले विज्ञप्तिमा जनाएको छ । “दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । प्रतिस्पर्धाकै लागि चुनावी माहोलमा होमिएको एउटा स्थापित राष्ट्रिय शक्ति एमालेको आस्थामा चोट पुर्‍याउने काम रास्वपाले भन्ने गरेको ‘नयाँको मानक’ बन्न सक्ला । तर, यो लोकतन्त्रको परिधिभित्र पर्दैन,” विज्ञप्तिमा भनिएको छ ।

यो हर्कत मुलुकलाई चरम अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्वलाई आमन्त्रण गरिएको एक उदाहरणको संज्ञा दिँदै एमाले अनुशासित पार्टी भएकाले यस्ता घटनाबाट उत्तेजित नहुने पनि भनिएको छ ।  झन्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न सम्बन्धित निकायलाई पार्टीले ध्यानाकर्षण समेत गराएको छ । विज्ञप्तिमा भनिएको छ, “अतः सरकार भयरहित, निष्पक्ष र निर्भिक ढंगले मतदातालाई मतदान गर्ने अधिकारलाई सुरक्षित गर्न सकिरहेको छैन भन्ने हाम्रो तर्कलाई यस घटनाले पुष्टि त गर्दैन ? भन्ने प्रश्न उब्जिएको छ ।”

झन्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको एमालेको निष्कर्ष छ । निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै प्रष्टीकरण लिई उनीहरूको जवाफ सार्वजनिक गर्न एमालेले जोडदार माग समेत गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.