काठमाडौं । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ ।
राष्ट्रसङ्घको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य र जिम्मेवारीलाई समेत सहजै स्वीकार गरी इमान्दार, व्यावसायिक र आदेशपालक ‘च्याम्पियन’ सैनिकको परिचय दिलाउन सफल रहेको सिरियास्थित युएन शान्ति मिसनका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल बताउँछन् ।
संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित बे्रकनमा वार्षिक रूपमा आयोजना हुने अत्यन्तै कठिन र जोखिमयुक्त अभ्यास क्याम्ब्रियन र पाकिस्तानमा हुँदै आएका गस्तीमा नेपाली सेना तीनपटक सर्वोत्कृष्ट भई स्वर्ण पदक जित्न सफल भएको छ । बेलायतमा भएको प्रतियोगितामा ३७ राष्ट्रका १२१ अन्तरराष्ट्रिय सैनिक टोलीलाई र पाकिस्तानमा भएको प्रतियोगितामा १७ राष्ट्रक ३८ सैनिक टोलीलाई पछि पार्दै नेपाली सेनाले प्राप्त गरेको नतिजाले नेपाली सेना एक कुशल, व्यावसायिक र लगनशील सैनिकका रूपमा विश्वभर स्थापित भएको छ ।
अत्यन्तै कठिन गस्तीका रूपमा रहेको उक्त अभ्यासमा जटिल परिस्थितिमा पनि आफ्नो फौजलाई जोगाएर मिसन पूरा गर्ने, खबर सङ्कलन गर्ने, अरूको हतियार नष्ट गर्ने, घाइते तथा बिरामीलाई उपचार गर्ने, विरोधीलाई पक्रने तथा रात्रिकालीन आक्रमण गर्ने कार्यमा नेपाली सेनाले आफ्नो गोर्खाली फौजको वीरता, साहस र व्यावसायिकता प्रदर्शन उजागर गरेको छ ।
विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रमा खटिएको नेपाली शान्ति सैनिकले राष्ट्रसङ्घ र नेपालको मान, प्रतिष्ठा र इज्जत अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरिरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत बताउँछन् । यस परिप्रेक्ष्यमा २६३औँ वार्षिकोत्सव मनाइरहँदा नेपाली सेनाले विश्व समुदायमाझ अनुशासित, विश्वसनीय र भरपर्दो शान्ति सैनिकको पहिचान बनाउन सफल भएको छ ।

