शैक्षिक मेला :  सरस्वती प्रा.वि.मा हस्तकला औजारदेखि विद्यार्थीको सृजना  प्रदर्शन  

माघ २३, काठमाडौं । काभ्रेपलान्चोकको रोशी गाउँपालिका वडा – ३ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय भदौरेमा एक दिने शैक्षिक मेला सम्पन्न भएको छ ।

शुक्रबार आयोजित उक्त मेलामा संकलित घरेलु औजार र  विद्यार्थीहरूले तयार पारेका सृजनात्मक तथा  नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । लोप हुँदै गएका  ढिकी, जाँतो, ठेकी, हातेमुसल, पानी घट्ट,  हलो, जुवा, करौती, कोदाली  तथा  डम्फु, बाँसुरी, मादल लगायत विभिन्न सांस्कृतिक बाजाहरू प्रदर्शनमा राखिएका थिए ।

शैक्षिक मेलाको उद्घाटन गर्दै  प्रमुख अतिथि एवम् रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले  शिक्षण सिकाइको नविनतम प्रयास सकारात्मक रहेको बताए । मेलाले विद्यार्थीको अन्तरनिहित क्षमताको विकास गरि मौलिक सामग्रीसम्बन्धी ज्ञान दिन सहयोग गरेको बताए ।

विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने र  आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने भएकोले त्यस्तो कार्यक्रमलाई निरन्तरता दिदै लानुपर्ने उपाध्यक्ष वाइबाले बताए ।

त्यस्तै रोशी ३ का अध्यक्ष धनजीत लामाले विद्यालयको रचनात्मक कार्यले विद्यार्थीलाई थप प्रोत्साहन मिलेको  बताए । वडाध्यक्ष लामाले शैक्षिक मेलाका क्रममा राखिएका शैक्षिक सामग्री र प्रस्तुतीकरणले विद्यार्थीको क्षमता अभिवृद्धि हुनेमा सहयोग पुगेको बताए । आगामी दिनमा पनि विद्यालय र व्यवस्थापन समितिलाई  रचनात्मक गतिविधि  गराउन आग्रह गर्दै वडाबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता गरे ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले  शैक्षिक मेलाले विद्यार्थीको मनोविज्ञानलाई समेत प्रभाव पार्ने भएको समयानुकूल शैक्षिक गतिविधिहरु संचालन गर्नुपर्नेमा जोड दिए । साथै प्रतिस्पर्धात्मक गतिविधिले विद्यार्थीको सर्वाङ्गीन विकासमा समेत मद्दत पुग्ने बताए । रोशी गाउँपालिकाका  शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहालले शैक्षिक मेलाले शिक्षण सिकाइमा सहयोग पुगेको बताए । बालअधिकारलाई  संरक्षण गरी विद्यालयमा उचित वातावरणसहित पठनपाठनमा रचनात्मक गतिविधि सञ्चालन गर्दै लानुपर्ने बताए ।

कार्यक्रममा प्रारम्भ खबरका सम्पादक भीम लामाले  शैक्षिक मेलाबाट स्थानीय उत्पादन र कलाको प्रवर्द्धन सहयोग पुग्ने बताए । मेलामा प्रदर्शनका लागि राखिएका पुराना सामग्रीहरू र विद्यार्थीबाटै सिर्जना गरिएका रचनात्मक  गतिविधिले क्षमता अभिवृत्तिमा थप टेवा पुग्ने बताए । पत्रकार लामाले लोप हुन लागेको स्थानीय सामग्रीहरूको संकलन र संरक्षण  विद्यालय स्तरबाट गर्न सकिए पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।  लामाले शैक्षिक मेलाबाट  विद्यार्थीहरुलाइ व्यवहारिक र समाजप्रति  उत्तरदायी बन्न मद्दत गरिने बताए ।

विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालनी गर्न लागेकाे विद्यालयका प्रधानाध्यापक रामहरि रायमाझीले बताए ।

 विद्यालयका शिक्षिका अनिता तामाङले सञ्चालन गरेकी  कार्यक्रममा वडा नम्बर ३ भित्रका विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाहरू विद्यार्थी र अभिभावकहरूको सहभागीता रहेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.