माघ १६, काठमाडौं । गोकर्णेश्वर–४, काठमाडौंस्थित शुभकामना स्कुल ले अभिभावक लक्षित ‘Art of Parenting’ सत्र तथा नतिजा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम न्यू ओएसिस पार्टी प्यालेस, अत्तरखेल मा आयोजित गरिएको थियो।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बालबालिकाको शैक्षिक प्रगति मात्र होइन, उनीहरूको समग्र (Holistic) विकास, संस्कारयुक्त पालन–पोषण र अभिभावक शिक्षाको भूमिका विषयमा विशेष चर्चा गरिएको थियो।
उक्त अवसरमा प्रख्यात प्रशिक्षक तथा मोटिभेटर श्री प्रितम पौड्याल ले अभिभावकहरूलाई सम्बोधन गर्दै आजको डिजिटल युगमा बालबालिकाको मनोविज्ञान, मोबाइल समय व्यवस्थापन, संस्कार विकास तथा घर–विद्यालय सहकार्यको महत्त्वबारे प्रेरणादायी विचार प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुति अभिभावकहरूका लागि व्यवहारिक र प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा विद्यार्थीहरूको नतिजा वितरणसमेत गरिएको थियो। विद्यालय व्यवस्थापनले यस्तो कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ भई बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
शुभकामना स्कुल गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ, संस्कार र जीवनोपयोगी सीप विकासमा केन्द्रित विद्यालयका रूपमा चिनिँदै आएको छ।

