माघ १३, काठमाडौं । विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक अग्निचक्षु’ माघ ११ गतेबाट काठमाडौंको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन भएको छ ।
साइलेन्ट एक्टको प्रस्तुति तथा नागरिक कल्याण समाज नेपालको आयोजनामा नाटक प्रस्तुत नाटक यही २५ गतेसम्म नियमित प्रदर्शन हुने आयोजकले जनाएको छ । धार्मिक, ऐतिहासिक र जीवनदर्शनका पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको नाटकले नेपाली समाजको सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर नारी सशक्तीकरण, चेतना र सामाजिक रूपान्तरणको सशक्त सन्देश प्रवाह गर्दछ । नाटकका लेखक तथा निर्देशक चन्द्रप्रसाद पाण्डेयले जीवित देवी कुमारीसँग जोडिएका परम्परा, इतिहास र सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यले यो कृति तयार गरिएको बताएका छन् ।

नाटकको पाण्डुलिपि निर्माणका क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीबाट समेत आशीर्वाद प्राप्त हुनु आफ्नो लागि गौरवको विषय भएको उनले उल्लेख गरे । नेपाली र नेपाल भाषामा मञ्चन गर्ने लक्ष्यअनुसार हरिगोपाल श्रेष्ठले नेपालभाषामा अनुवाद गरेका छन्। हाल नेपाली भाषामै मञ्चन भइरहेको छ। नाटकको नाट्य प्रस्तुति संयोजन वरिष्ठ रंगकर्मी कृष्णभक्त महर्जनले सम्हालेका छन्। उनको अनुभव र कलाकारहरूको ऊर्जाले नाटकलाई थप प्रभावशाली बनाएको आयोजक
पक्षले जनाएको छ ।
नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर, राजेन्द्र डंगोल तथा बाल कलाकार दिव्यता चौधरीको प्रभावशाली अभिनय रहेको छ । सङ्गीत संयोजन विमल लामिछानेले गरेका हुन् । गायनमा विमल लामिछाने र अनु अधिकारीको सहभागिता रहेको छ । वाद्यवादनतर्फ इन्द्रमान महर्जन, मिन घलान र गणेश रानाको योगदान रहेको छ । मञ्च सज्जा कृष्णभक्त महर्जनले गरेका छन् भने प्रकाश परिकल्पना तथा परिचालन निर्मल साउदले सम्हालेका छन् ।
कोरियोग्राफी जेडी तमु र कृष्णभक्त महर्जनले गरेका हुन् । वेशभूषा अग्निचक्षु समूहले तयार पारेको छ । प्रस्तुति परिकल्पनाको जिम्मेवारी झकेन बी.सी. ले सम्हालेका छन् भने सहजीकरण हरिगोपाल श्रेष्ठले गरेका छन् ।

