माघ ५, काठमाडौं । नेपाली कराते खेलले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एक पटक आफ्नो सशक्त उपस्थिति जनाउने भएको छ।
विश्व कराते महासंघ (WKF) को आयोजनामा टर्कीको इस्तानबुलमा हुन गइरहेको WKF Karate One Premier League मा नेपालबाट ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङ, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ तथा अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङ सहभागी हुँदैछन्। नेपाली कराते टोली भोलि टर्कीको इस्तानबुल प्रस्थान गर्दैछ। टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले औपचारिक रूपमा बिदाइ गर्नुभएको छ।
एरिका गुरुङ : नेपाली करातेको आशा
१९औँ एशियन गेम्समा नेपाललाई एकमात्र ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङ यस पटक महिला +६८ केजी कुमुते तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। विश्वस्तरका शीर्ष खेलाडीहरू सहभागी हुने Karate One Premier League मा उनको सहभागितालाई नेपाली करातेका लागि अत्यन्त महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
एरिका गुरुङ हाल नेपाली करातेको सबै भन्दा सफल खेलाडी हुन। यस अघि उनी मोरक्कोमा सम्पन्न WKF Karate One Premier League की कास्य पदक विजेता तथा मलेसियामा भएको World Karate One Series A की स्वर्ण पदक विजेता समेत हुन्। उनको प्रदर्शनले आगामी ओलम्पिक तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि सकारात्मक संकेत दिने अपेक्षा गरिएको छ।
प्रशिक्षक कुशल श्रेष्ठको नेतृत्व
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ नेपाली करातेमा हाल सम्मकै सर्वाधिक अन्तर्राष्ट्रिय पदक जिताउन सफल प्रशिक्षकका रूपमा परिचित छन्। उनले राष्ट्रिय टिमको शारीरिक, प्राविधिक र मानसिक तयारीमा विशेष ध्यान दिँदै आएका छन्। प्रशिक्षक श्रेष्ठको अनुभव, रणनीति र नेतृत्वले एरिका गुरुङको प्रदर्शनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङको विशेष भूमिका
यस प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष भनेको अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङको सहभागिता हो। उनी एशियन कराते महासंघ (AKF) अन्तर्गत कुमुते रेफ्री A ग्रेड प्राप्त नेपाली रेफ्री हुन्। तारा गुरुङ यसअघि World Karate One Series A मा पनि रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छिन्।
WKF Karate One Premier League जस्तो उच्चस्तरीय विश्व प्रतियोगितामा पुनः सहभागी हुनु उनको अन्तर्राष्ट्रिय अनुभव, क्षमता र विश्वसनीयताको प्रमाण हो। उनी यो स्तरको प्रतियोगितामा निरन्तर सहभागी हुने एक्लो नेपाली महिला अन्तर्राष्ट्रिय रेफ्री हुन्, जसलाई नेपाली करातेका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। इस्तानबुलमा आयोजना हुने प्रतियोगितामा तारा गुरुङ नेपाली टोलीको टिम अफिसियलको रूपमा सहभागी हुनेछिन्।
यूके तर्फ नेपाली कराते टोली
टर्कीको प्रतियोगिता पछि नेपाली कराते टोली 9th Harlow Open International Karate Championship and Seminar, Harlow (UK) तर्फ प्रस्थान गर्नेछ। यूकेमा हुने प्रतियोगितामा नेलि जोशी, प्रज्वशन यामातो श्रेष्ठ र एरिका गुरुङले सहभागिता जनाउनेछन्।
यसै क्रममा यूकेमा ग्रीसका वर्ल्ड र्याङ्क ३ का खेलाडी जेनोसले विशेष सेमिनार पनि प्रदान गर्ने कार्यक्रम रहेको छ। साथै, तमु धि: युकेले एरिका गुरुङलाई विशेष सम्मान गर्ने कार्यक्रमको तयारी गरेको छ। सम्मान कार्यक्रमका लागि अध्यक्ष जुमकाजी गुरुङ, महासचिव विशाल गुरुङ तथा संस्थापक अध्यक्ष मीन गुरुङले तयारी भइरहेको जानकारी दिनुभएको छ। यूकेमा आयोजना हुने प्रतियोगितामा तारा गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्नेछिन्।
तीनै तहमा नेपालको प्रतिनिधित्व
इस्तानबुलमा हुने WKF Karate One Premier League मा नेपालबाट खेलाडी, प्रशिक्षक र टिम म्यानेजर/रेफ्री तीनै तहमा प्रतिनिधित्व हुनु नेपाली करातेको समग्र विकासको संकेत हो। यसले नेपाल अब केवल खेलाडी उत्पादन गर्ने देश मात्र नभई, अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक, व्यवस्थापक र रेफ्री उत्पादन गर्न सक्षम बन्दै गएको सन्देश दिएको छ।
नेपाल कराते महासंघका पदाधिकारीहरूले यस्तो सहभागिताले नेपाली करातेको अन्तर्राष्ट्रिय छवि अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्। खेलाडी एरिका गुरुङको प्रतिस्पर्धा, प्रशिक्षक कुशल श्रेष्ठको नेतृत्व र तारा गुरुङको टिम म्यानेजर तथा अन्तर्राष्ट्रिय रेफ्रीको भूमिकाले नेपाली करातेको प्रतिष्ठा विश्व मञ्चमा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ।

