माघ ४, काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी माघ ९ र १० गते प्रदेश न. १ को राजधानी बिराटनगरमा आयोजना हुने भएको छ ।
आइतबार काठमाडौँ स्थित महासंघको कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनको लोगोसहित मिति घोषणा गरेका हुन् । ‘प्राकृतिक श्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचिन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनःनामाङकन गर ।’ भन्ने महाधिवेशनको मूल नारा रहेको प्रेस वक्तव्य वाचन गर्दै महासंघका महासचिव दिवस राईले जानकारी दिए । महाधिवेशनको पहिलो दिन माघ ९ गते प्रदेश १ का विभिन्न जिल्लाका आदिवासी जनजातिहरु आआफ्ना भेषभुषामा नाचगान, झांकी र ऱ्याली सहित हजारौंको उपस्थितिमा विराटनगर नगर परिक्रमा गरि कार्यक्रमस्थल होटल मनास्लुको सभाभवनमा पुग्नेछन र उद्घाटन सत्र आरम्भ गरिने बताइएको छ ।
११ औ राष्ट्रिय महाधिवेशनको अध्यक्षता महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा महासंघका संस्थापक महासचिव सुरेश आलेमगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बताएको छ । महाधिवेशनलाई भव्यताका साथ सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमितिहरु निर्माण गरिएको र ती उपसमितिहरुले अन्तिम तयारीका लागि कामहरु गरिरहेका जानकारी दिए ।

उपसमिति अन्तरगत संयोजकहरू प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, प्रचार प्रसार तथा पत्राचर उपसमिति संयोजक महासचिव दिवश राई, खाद्य तथा आवास व्यवस्थापन उपसमिति संयोजक उपाध्यक्ष युवराज जिरेल, आर्थिक व्यवस्थापन उपसमिति संयोजक कोषाध्यक्ष विमल सारु मगर, प्रतिनिधि कार्ड व्याच व्यानर लजिस्टिक उपसमिति संयोजक उपाध्यक्ष लाक्पा ढोक्प्या, सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक उपाध्यक्ष लहरुमाया जिमी, विधान संसोधन उपसमिति संयोजक बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजक कोषाध्यक्ष विमल सारुमगर, अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति संयोजक उपाध्यक्ष श्रुती कुमाल, झांकी ऱ्याली व्यवस्थापन उपसमिति संयोजक बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, सागठनिक प्रतिवेदन उपसमिति संयोजक महासचिव दिवश राई, आर्थिक प्रतिवेदन उपसमिति संयोजक कोषाध्यक्ष विमल सारु मगर रहेको जानकारी दिए ।
आदिवासी जनजाति अभियन्ताहरुले २०४६ सालको आन्दोलन र पञ्चायती व्यवस्थाको अन्त्यसंगै वहुदलिय प्रजातान्त्रिक व्यवस्थाको संघारमा आदिवासी जनजातिहरुलाइ गोलबद्ध गर्दै पहिचान सहितको सामुहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको १० वर्ष पूरा भएको छ । स्थापनाकालमा संस्थापक महासचिव सुरेश आले मगरले नेतृत्व गरिएको महासंघमा त्यसपछि क्रमशः पर्शुराम तामाङ, बालकृष्ण माबुहाङ, ओम गुरुङ, पाशाङ शेर्पा, राजकुमार लेखि, नगेन्द्र कुमाल, जगत बराम हुदै महासंघको १० औं महाधिवेशन पश्चात हाल गेल्जे लामा शेर्पाले नेतृत्व गरिरहेको प्रेस विज्ञप्तीमा जानकारी छ ।
नेपालको कुल जनसंख्याको झण्डै ३६ प्रतिशत जनसख्या ओगटेको महासंघ नेपालका आदिवासी जनजातिहरुको छाता संगठन हो। नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सुचिकृत ६० वटा आदिवासी जनजातिय समुदायहरु मध्ये यस महासंघमा ५६ समुदायहरु आवद्ध छन भने १२ वटा सम्वन्धन संगठनहरु रहेका छन । यसैगरी विदेशमा रहेका नेपालका आदिवासी जनजातिहरुको विदेशस्थित २५ वटा देशहरुमा यस महासंघका प्रवास संगठनहरु रहेका छन भने ७ वटा प्रदेश समन्वय परिषद, ७७ वटा जिल्ला समन्वय परिषद र ५ हजारभन्दा बढी स्थानीय पालिका र वडा समन्वय परिषदहरु संगठित रुपमा क्रियशील रहेका छन ।
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूलाई धन्यवाद दिदै आगामी माघको ९ र १० गते हुने नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्न छाता संस्था तथा समुदायलाई अह्वान गरे । महाधिवेशनले सक्षम, योग्य र सफल नेतृत्व चयन गरिने बताउँदै नेपालका आदिवासी जनजातिको मुद्धालाई सफल बनाउन सहयोग पुग्ने बताए ।

