देश नै नबच्ने हो कि भन्ने निराशा बढ्यो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोडेको झन्डै दुई दशक बितिसक्दा पनि नेपालले भोगिरहेको सङ्कटले आफूलाई गहिरो चिन्तित तुल्याएको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशमा उनले विगतमा देश निर्माण हुन नसकेकोमा चिन्ता थियो भने अहिले देश नै टिक्न सक्छ कि सक्दैन भन्ने निराशा पैदा भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि मुलुकले सामना गरिरहेका सङ्कटहरूले हामीलाई निकै चिन्तित बनाएको छ । हिजो देश बनाउन नसकिएकोमा चिन्ता थियो, आज देश नै बच्न सक्छ कि सक्दैन भन्ने निराशा जागेको छ ।’

पूर्वराजा शाहका अनुसार, भाषण, जादु वा चमत्कारले देश बन्दैन । यसका लागि सबै जातजाति, धर्म र क्षेत्रका नेपालीहरूको साझा प्रतिनिधित्व गर्ने राजसंस्थाले जनताबाट प्राप्त जिम्मेवारीबाट पन्छिन सक्दैन ।

उनले सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीनारायण शाहको मार्ग (पृथ्वीपथ) मा अघि बढ्नुपर्ने आह्वान गरेका छन् । उनले भने, ‘झन्डै दुई दशकअघि शान्ति कायम गरी आर्थिक प्रगति र स्थायित्व दिने प्रतिबद्धताका साथ सत्तामा पुगेका दलहरूको चाहनाअनुसार हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित निकायमा बुझाएर सहयोगी भावनाका साथ राजकाजबाट बाहिरिएका थियौँ, यो कुरा सबैलाई थाहा छ ।’

पृथ्वीनारायण शाहको प्रशंसा गर्दै उनले भने, ‘बडामहाराजधिराज पृथ्वीनारायण शाहले २२ वर्षको युवा अवस्थामै सुरु गरेको एकीकरण अभियान सफल भएपछि आधुनिक नेपाललाई चार वर्ण र ३६ जातिको साझा फूलबारीको रूपमा चित्रण गर्नुभएको थियो । यो मुलुक राजाको मात्र होइन, जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश उहाँले दिनुभएको थियो ।’

पूर्वराजा शाहले सबै नेपालीहरूले राष्ट्रिय एकता र कर्तव्यबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै यो सन्देशलाई राष्ट्रिय एकताको आह्वानका रूपमा प्रस्तुत गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.