पुस २३, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जंगलमा भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
बा ४ ख ७७८८ नम्बरको बस बानेश्वरस्थित नेचर हब कम्पनी लिमिटेडका कर्मचारीहरू बनभोज खाएर फर्कने क्रममा सडकबाट करिब ६० देखि ७० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भई नेपाल मेडिकल कलेज ल्याइएका अन्दाजी ५५ वर्षका एक पुरुष र पेप्सीकोला बस्ने शान्ती गुप्ताको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मेडिकल कलेजमा उपचाररत केही घाइतेहरूको अवस्था जटिल भएपछि अन्य अस्पतालमा रिफर गरिएको छ भने हाल पाँच जना त्यहीँ उपचाररत रहेका छन्। बाँकी घाइतेहरू काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसमा झण्डै ३५ देखि ४० जना यात्रु सवार रहेको र दुर्घटनामा सबैजना घाइते भएको महानगरीय प्रहरी वृत्तका डिएसपी सन्तोष रोकाले जानकारी दिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

