असोज १६, काठमाडौँ । विगत चार वर्षदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको पाँचौ राष्ट्रिय अधिवेशन आगामी पुसमा हुने भएको छ ।
पुस ११, १२ र १३ गते अधिवेशन गर्ने निर्णय सङ्घको केन्द्रीय समितिको बैठकले गरेको छ । अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको सङ्घका केन्द्रीय अध्यक्ष योगेन्द्रनारायण बड्बरियाले जानकारी दिनुभयो । त्रिवि मातहतका क्याम्पसहरूमा अधिवेशन हुन नसकेको कारण जनाउँदै चार वर्ष अघि नै हुनुपर्ने सङ्घको अधिवेशन हालसम्म हुन सकेको थिएन । सङ्घको तीन वर्षको नियमित कार्यकाल गत २०७१ साल मङ्सिरमा सकिएको थियो । सङ्घका अध्यक्ष बड्बरियाले यसपटक सबै पक्षसितको सहकार्यका आधारमा अधिवेशन सफल बनाइने बताउनुभयो । यसअघि सङ्घको अधिवेशन मिति केही पटक तय गरिए अन्तिम समयमा स्थगित गर्ने गरिएको थियो ।
अध्यक्ष बड्बरियाले सहमतिमा अधिवेशनलाई निश्कर्षमा पु¥याउन प्राध्यापक सङ्घका पूर्वअध्यक्ष तथा महासचिव, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका पूर्वअध्यक्ष तथा महासचिव र वैचारिक हिसाबले क्रियाशील प्राध्यापक सङ्घ सङ्गठनका अध्यक्ष तथा महासचिवलाई आमन्त्रण गरेर बृहद् बैठक गर्ने निर्णयमा भएको जानकारी उहाँले दिनुभयो । यसै साताभित्र निर्वाचनका बारेमा रहेको विभिन्न समस्यालाई किनारा लगाएर आफूहरू अघि बढ्ने तयारीमा रहेको जानकारी उहाँले दिनुभयो । त्यसपछि त्रिवि मातहतका विभिन्न क्याम्पस तथा अनुसन्धान केन्द्रको एकाईको अधिवेशन मिति तथा अन्य अधिवेशनको तयारीले गति लिने अध्यक्ष बड्बरियाको भनाइ छ ।

