एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची

पुस १४, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो। पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ। बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छ भने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ।

पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ। साथै अपांगता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ। नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ। त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ।

एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची बुझाउने आज अन्तिम दिन पार्टीले बन्दसूची बुझाएको जनाएको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.