असोज१६, यूएई । अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, सरकारले राजदूत बस्ने भवनको सम्झौता नवीकरण गरेर भाडा भने बुझाउँदै आइरहेको छ ।
०७३ मा राजदूत धनञ्जय झा कार्यकाल सकाएर नेपाल फर्किएपछि भाडाको घर प्रयोगविहीन भए पनि दूतावासले भाडा तिर्दै आइरहेको हो । उसले त्यसपछिका हरेक वर्षको डिसेम्बरको अन्त्यमा नभएका राजदूतको आवासीय प्रबन्धका लागि सम्झौता नवीकरण गर्दै आएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार राजदूतको आवासका लागि लिइएको भवनको भाडा वार्षिक दुई लाख २० हजार दिराम अर्थात् नेपाली करीब ७० लाख रुपैयाँ बराबर छ । यूएईका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले आफू आउनुपूर्व नै आवासीय भवनको नवीकरण भइसकेकाले राजदूतविहीन हुँदाहुँदै पनि घर भाडामा लिन बाध्य भएको प्रष्टीकरण दिए । ‘म आउनुपूर्व नै राजदूतका लागि भाडामा लिइएको आवासीय भवनको सम्झौता नवीकरण भइसकेको रहेछ’, कार्यवाहक राजदूत फुयाँलले अनलाइखबरसँग भने, ‘प्राविधिक समस्याका कारण सम्झौता रद्द गर्न नसकिएको हो । नयाँ राजदुत नियुक्ति प्रक्रिया चलिरहेकाले यो छिट्टै प्रयोगमा आउँछ ।
करीब २ लाख ५० हजार नेपाली कार्यरत यूएईमा सन् २००४ देखि नेपाली दूतावास रहँदै आएको छ । सन् २००७ बाट भने यूएईमा पूर्णरुपमा नेपाली राजदूतले जिम्मेवारी सम्हाल्न थालेका हुन् । तर अढाइ वर्षयता नेपालीको मुख्य श्रम गन्तव्य मानिने यूएईको राजदूतावास नेतृत्वविहीन छ । कार्यवाहकको जिम्मेवारी सम्हालेर दुई जना बिदा भइसके पनि पनि अझै राजदूत नियुक्ति प्रक्रियाले गति लिन सकेको छैन ।

