स्वर्गीय कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोले गुरूङको शालिक अनावरण

मंसिर २, काठमाडौँ । स्वर्गीय कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोले गुरुङको सम्झनामा निर्मित पूर्णकदको शालिक अनावरण गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा गीत संगीतको माध्यमबाट कला, भाषा, संस्कृति र सामाजिक चेतनामा अतुलनीय योगदान पु¥याई राष्ट्रको नाम चिनाउन सफल दुइ स्रष्टाको सम्मान र सम्झनाका लागि सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीमा रहेको सिन्धुली कला घरमा दुइ पूर्णकदको शालिक स्थापना गरिएको आयोजकले बताएका छन् ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा सोमबार (मंसिर १) भएको विशेष समारोहमा निवर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमखु आतिथ्यता एवम् सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगयात कलाकारहरूको विशेष आतिथ्यतामा स्वर्गीय कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोले गुरूङको शालिक  अनावरण गरिएका हुन् ।

उहाँहरुको सोही योगदानलाई जीवन्त राख्न हरिहरपुरगढी गाउँपालिकाले शालिक निर्माण गरी सिन्धुली कला घरमा स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो । यस्तै प्रमुख अतिथि लेखनाथ दाहाल (राजन) ले वरिष्ठ कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोलेको शालिक स्थापना गरेर उहाँहरुको योगदानलाई जीवन्त राख्ने कार्यको अगुवाई गरेकोमा हरिहरपुरगढी गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वरिष्ठ कलाकारद्वयले निरन्तर गर्नुभएको संघर्ष र समर्पणले नै उहाँहरुलाई यो उचाईमा पु¥याएको उल्लेख गर्नुहुँदै नयाँ पुस्ताका कलाकारहरुले प्रेरणाको स्रोतको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली तथा तामाङ चलचित्रहरु अभिनय गरेर चर्चित बन्नुभएका वरिष्ठ कलाकार स्व. जयनन्द लामाको गीत संगीतमा पनि उत्तिकै योगदान रहेको छ । यसैगरी स्व. इन्दिरा गोलेले हजारौं तामाङ सेलो तथा नेपाली लोकगीतमा स्वर दिनुभई नेपाली संगीत क्षेत्रको उत्थानमा उल्लेखनीय योगदान गर्नुभएको थियो । नेपाल तामाङ कलाकार संघ र म्हेन्दो मायाको विशेष उपस्थितिमा स्वर्गीय कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोले गुरूङको शालिक अनावरण समारोहमा परिवार र आफन्तलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ,सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य फुलमान बल, कमलामाई नगरपालिका उपप्रमुख मन्जु देबकोटा,घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलान, हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य लगायतको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा चर्चित तथा नयाँ कलाकारबाट विभिन्न सांगीतिक प्रस्तुतिहरु राख्नुभएको थियो । यसैगरी सिन्धुली कला घरका कलाकारहरुबाट विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो ।

स्वर्गीय जयनन्द लामाको संक्षिप्त परिचय
जन्म – वि.सं. २०१२, बाह्रबिसे, सिन्धुपाल्चोक जिल्ला, नेपाल
मृत्यु – वि.सं. २०७८ फाल्गुन ११ गते बुधबार, कौशलटार भक्तपुर नेपाल

विधा – नेपाली लोक सङ्गीत
पेशा – गायक, कलाकार, सङ्गितकार, शब्द संकलक, चलचित्र लेखक, निर्माता र निर्देशक
सक्रिय वर्ष – ६५

नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थालेका थिए । पहिलो क्यासेट एल्बम निकाल्ने गायक समेत जयनन्द नै थिए । उनले दुई सय बढी गीत गाएका छन् । विशेषगरी रमाइलो खालका गीत सिर्जना र गाउने गरेका उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोक गीत अहिले पनि उत्तिकै चर्चित छन् । पहिलो तामाङ भाषाको चलचित्र ‘छोमरी छोरङान’ लेखन तथा निर्देशन समेत जयनन्दले गरेका थिए ।

त्यस्तै ‘माया गर्छु म’, ‘कर्मको फल’ जस्ता चलचित्रहरु निर्देशन समेत गरेका थिए । बीचको केही वर्ष भने उनी चलचित्र अभिनयबाट केही टाढा देखिएका थिए । केही वर्षअघि मात्रै ‘छक्का पञ्जा’, ‘जय भोले’ जस्ता चलचित्रमा अभिनय गरेपछि उनी पछिल्लो समय चलचित्रमा निकै व्यस्त कलाकारमा पर्दथे ।

स्वर्गीय इन्दिरा गोले गुरूङको संक्षिप्त परिचय
नेपाली लोकदोहोरी संगीतकी धरोहर तथा ‘काठे भाका’की चर्चित गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएकी हुन् । वि.सं. २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५, भारदेउमा जन्मनुभएकी इन्दिरा गोले गुरुङले नेपाली संगीतलाई पाँच दशकभन्दा बढी समयदेखि अतुलनीय योगदान दिएकी थिइन् । क्यान्सर रोगसंग लड्दै आएकी उनी २०८२ भदौ १८ गते निधन भईन् ।

५ हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी गुरुङले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विभिन्न भाषा र भाकाका गीतहरू गाएर दर्शक तथा स्रोताको मन जितेकी थिइन् । उनका ‘चागुनारायण थान’ र ‘आज मलाई उनीको पछ्यौरी’ जस्ता गीतहरू अत्यन्तै लोकप्रिय भई छुट्टै पहिचान दिलाएका थिए । यी गीतहरू आज पनि लाखौं नेपालीहरूको जिब्रोमा झुण्डिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.