काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र (लाइसेन्स)प्रदान गर्ने भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएको जानकारी दिएको हो । विभागले अनुमतिपत्र लिन चाहने कम्पनीलाई एक महिनाभित्र आवेदन दिन आग्रह गरेको छ ।
एकपटकमा पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले रु पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले रु १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ ।
सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो ।

