असोज १५, बनेपा । बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा सिर्जना भएको तनावलाई नियन्त्रणमा लिन प्रहरी ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।
त्यस्तै, प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् । नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गर्दा तनाव सिर्जना भएको हो । राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो । घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्यालय भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गरेका छन् ।
डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख गुरु अधिकारीले भने अरनिको राजमार्ग साँगाबाट धुलिखेलको सम्मको ९ किलोमिटर सडक मिचेर बनेका घर टहरा यो साताभित्र हटाइने बताएका छन् ।

