तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

असोज १४, भक्तपुर। भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ।

हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती रहेको छ।

राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ।

एक अर्को किंवदन्तीअनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रूपमा प्रवेश गरेको भन्ने गरिन्छ। त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पुज्न थालिएको हो।

कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौं र ललितपुरमा बिस्तार भएको भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए। विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ।

राँगो दौडाउने जात्रा सम्पन्न

यस्तै, महाअष्टमीका दिन राति मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ। महिषासुरको प्रतीक मानिने निक्खर राँगो जात्रा स्थानीय व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्‍याई कालरात्री पूजा गरिएको थियो।

जात्राका क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने प्रचलन छ। जात्रा दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारीले राँगोलाई मूलचोक भित्र्याउन आदेश दिएसँगै तलेजुको मूलचोकमा पुर्‍याएर तलेजुमा कालरात्री मनाइएको तलेजुका मुख्य नाइके जोशीले जानकारी दिए।

दशैं महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिएर कालरात्री मनाइएको उनले बताए। गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार यसपटक पनि बलि पूजा गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.