आज जेनजीसँग सेनाको औपचारिक वार्ता हुँदै

भदौ २५, काठमाडौं । नेपाली सेना र जेनजी प्रतिनिधिसँग आज औपचारिक वार्ता हुँदै छ । गएराति भएको अनौपचारिक छलफलमा वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ ।

बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग आग्रह गरेको हो । सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ । उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन् ।

यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको छ । वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन ।

हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए। त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए ।

नेपाली सेनाको सहजीकरणमा वार्ता गर्ने र निकासको खोजी गर्ने तयारी भइरहेको छ । बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए । त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.