जेनजीलाई आन्दोलन बीचैमा नछोड्न पूर्व प्रधानमन्त्री भट्टराईको आग्रह

भदौ २४, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजीलाई आन्दोलन बीचैमा नछोड्न आग्रह गरेका छन् । आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन उनको सुझाव छ ।

“आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा छोड्नुहुन्न । अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ,” डा. भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

जेनजीलाई शान्तिपूर्ण आन्दोलनमा दृढ रहन भन्दै उनले कसैको वहकाउमा नआउन समेत आग्रह गरेका छन् ।

“आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ‘भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ,” उनले लेखेका छन्, “घुसपैठ भइहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ ।”

नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थिरता प्राप्त गर्न संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्ने उनले बताएका छन् ।

डा. भट्टराईले सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधान नै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रजस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्न नहुने बताएका छन् ।

“‘भुइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भन्ने हाम्रो लोकोक्तिलाई हमेसा स्मरण गर्नुपर्छ,” उनले भनेका छन् ।

देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरुआत गरेकोमा आफू असाध्यै गौरवान्वित भएको उनले उल्लेख गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.