कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, गोसाइँकुण्डको जल चढाउने प्रचलन

भीम लामा,

भदौ १५, काठमाडौँ । संघीय राजधानीको उत्तरपूर्वी भागमा रहेको कागेश्वरी मनोहरा नगरपालिका –१ स्थित कागेश्वरी मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना एवम् दर्शन गरेका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ला अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा भक्तजनले यहाँ पूजा आराधना एवम् दर्शन गरेका हुन् । प्रशिद्ध पवित्र ऐतिहासिक धार्मिक महत्व बोकेका कागेश्वरी महादेव मन्दिरमा काठमाडौँ उपत्यका लगायत काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, नुवाकोट लगायत विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गरेका कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मकुन्द गजुरेलले बताए । कागेश्वरी महादेव मन्दिरलाई ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि नगरपालिकाले सक्रियता देखाइएको वडाध्यक्ष गजुरेलले बताए ।

ऐतिहासिक कागेश्वरीधामको नामबाट नगरपालिकाको नामाकरण भएको हो । विशेष गरि बौद्ध तथा हिन्दू धर्म र बोन साँस्कृतिक महत्व बोकेको पवित्र स्थलको रूपमा हेरिने उक्त मन्दिरको दर्शन गर्न मल्ल कालिन समयदेखि राजा प्रताप मल्लले दर्शन गरेको परम्परा किम्वदन्ती छ ।कागेश्वरी मन्दिरको गोसाइँकुण्डसंग धार्मिक सम्बन्ध जोडिएको र हरेक भक्तजनले गोसाइकुण्डबाट ल्याएको जल त्यस कागेश्वरी मन्दिरमा नचढाएसम्मा आफ्नो धार्मिक यात्रा पूरा हुदैन भन्ने विश्वास रहेको वडाध्यक्ष मकुन्द गजुरेलले उल्लेख गरे । गोसाइकुण्ड जाने हरेक भक्तजनहरू कागेश्वरी मन्दिर दर्शन गर्न आउने गरेको बताए ।

विभिन्न क्षेत्रबाट आएका भक्तजनहरूलाई सुविधा दिनका लागि नगरपालिकाले व्यवस्थापन गरिएको छ । त्यस्तै शान्ति सुरक्षाका लागि नगर प्रहरी, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी बल समेत परिचालन गरेको वडाध्यक्ष गजुरेलले जानकारी दिए । प्रत्येक वर्ष ४ देखि ६ लाखसम्म भक्तजनहरूले दर्शन गर्न आउने गरेको अंकलन उनले गरेका छन् । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पवित्र धार्मिक स्थल कागेश्वरी महादेवको मन्दिर व्यवस्थापनमा केही चुनौतीहरू भएतापनि बनसंगको समन्वयमा आकर्षक र व्यवस्थित कागेश्वरीधाम निर्माण लागि परेको बताए ।

कागले देखाएको महादेव भएर कागेश्वरी महादेव मन्दिरको रूपमा चिनिएको भनाइ छ । त्यस मन्दिरमा धामी, झाँक्री, लाखे लगायत विभिन्न प्रर्दशन तथा पूजा आराधनाका लागि छुट्टै भेषभूषा तथा साँस्कृतिक पहिचानसहित उपस्थिति भएका थिए । ऐतिहासिक साँस्कृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि त्यस क्षेत्रमा बाटो उचित व्यवस्थापन तथा अन्य आकर्षक थुप्रै परियोजना तथा संरचनाहरू निर्माण भएको छ । कागेश्वरीधामा करिव २२७ किलो अष्टधातुबाट कागको स्तम्भ निर्माण गरिएको छ ।

कागेश्वरीको पहिचान र धार्मिक अस्तित्व समेत बोकेको त्यस क्षेत्रमा ढुंगा बिछ्याइएको छ । उक्त कागको स्तम्भ संविधानसभा सदस्य रामेश्वर फुयाँलको पहलमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शिलान्यास गरेका थिए । त्यस्तै लोकतान्त्रिक सहिद उद्यान पार्कमा १९४०.०५ किलोको अष्टधातुबाट बनेको कागको प्रतिमूर्ति निर्माण भएको छ । संविधानसभा सदस्य फुयाँलको परिकल्पनामा जनताको घरदैलो अभियानबाट केही कवाड संकलन समेत भएको थियो ।

त्यस्तै २०२२ सिढि निर्माण गरेर आकर्षक केन्द्रविन्दूको रूपमा परिचित कागेश्वरीधाम र लोकतान्त्रिक सहिद उद्यान पार्कमा दैनिक सयौँ बाह्या तथा आन्तरिक पर्यटक आउने गरेको बताए । फुयाँलले भने– ‘गोसाइँकुण्डसम्म जाने जोरपाटी– चिसापानी– गोसाइँकुण्ड मार्ग सञ्चालनको अवधारणा अघि बढिसकेको छ ।’ त्यस्तै ब्रम्हाखेल– लोकतान्त्रिक शहिद पार्क–चिसापानी मार्ग सम्पन्न प्रयास जारी रहेको संविधान सभा सदस्य फुयाँलले बताए ।

अघिल्लो वर्षहरूभन्दा यस वर्ष भक्तजन तथा दर्शालुहरूको उपस्थिति बाग्लो रहेको थियो । सवारी पार्किङ र लाईन व्यवस्थापनमा कठिनाइ भएपनि स्काउट, विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीय संघसंस्थाको सहयोगमा मेला सम्पन्न भएको छ । मेलामा स्थानीय खाने परिकार, उत्पादन, अचार, स्थानीय रक्सी, छ्याङ लगायत सामग्रीको प्रर्दशन तथा विक्रि वितरण गरेको थियो । सोही दिन कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक विदा समेत दिने निर्णय गरेको छ ।

तस्बीरः प्रदीपकुमार श्रेष्ठ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.