भदौ ३, काठमाडौँ । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्षमा किरन मोक्तानलाई चयन गरेका छन् ।
मंगलबार काठमाडौँको जर्सिङपौवामा भएको केन्द्रीय पदाधिकारीको बैठकले यसअधि संघको महासचिव रहेकी मोक्तानलाई उपाध्यक्षमा मोनित गरेर कार्यवाहक अध्यक्षको रूपमा चयन गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) निकट जनजाति भातृसंगठन नेपाल तामाङ संघका निर्वतमान अध्यक्ष लाप्साङ लामा पाख्रिनले मोक्तानलाई माइन्युटसहित पत्र बुझाएर कार्यवाहक अध्यक्ष घोषणा गरेका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव तथा तामाङ संघका इन्चार्ज चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सो बैठकले आगामी महाधिवेशनका लागि आवश्यक छलफलसहित कामकारवाही अघि बढाउने गरि उपाध्यक्ष मोक्तानलाई निवर्तमान अध्यक्षले कार्याभार सुम्पिएका छन् । गत वैशाख २० र २१ गते सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको दोस्रो केन्द्रीय महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय कार्यसमितिमा निर्वाचितले स्वतः तामाङ संघ छोड्नुपर्ने प्रावधान रहेकाले निवर्तमान अध्यक्षले पद हस्तान्तरण गरेका हुन् ।

नेपाल तामाङ संघ (समाजवादी) मा संघको विधानअनुसार महाधिवेशन गरेर देशभरका तामाङहरूलाई प्रतिनिधित्व गराउने कार्यवाहक अध्यक्ष किरण मोक्तानले बताइन् । तामाङ समुदायको हकहित, अधिकार, पहिचान र नेतृत्वको विकासका लागि नेपाल तामाङ संघमार्फत सबै तामाङ समुदायलाई समेट्ने प्रयास जारी राख्ने उनले प्रतिबद्धतता जनाइन् ।

