साउन २६, काठमाडौं । उपत्यका स्तरीय विवाहित महिलाहरुको तीज नृत्य प्रतियोगितामा डोलेगमन महिला समूह प्रथम स्थानमा बिजयी भएको छ ।
आइतबार जोरपाटीमा शिखर छहारी सांस्कृतिक कला केन्द्रले आयोजना गरिएको सो प्रतियोगितामा डोलेगमन महिला समूह उत्कृष्ट बनेका थिए । त्यस्तै द्वितीयमा आनन्द गणेश महिला समूह, तृतीयमा अत्तरखेल महिला समाज बिजेता बनेका छन् । सान्त्वनामा दुई महिला समूहहरु सुल्ताखान महिला समूह र डाँडागाउँ महिला समूह रहेका छन्।

विजेताहरूलाई क्रमश : रु ४०, ३०, २० र ५/५ हजारका दरले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । बागमती प्रदेश अन्तर्गत सांस्कृतिक तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा भएको सो कार्यक्रमलाई स्थानीय शैक्षिक संस्थाहरूले सहयोग गरेका थिए।

उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका सांस्कृतिक तथा पर्यटन पूर्वमन्त्री बिमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरूले प्रचलन गरेर गरेका थिए।
प्रतियोगितामा १७ वटा महिला समूह र विद्यालयहरुले सहभागिता जनाएका थिए। यसले उपत्यकाभरिका विवाहित महिलाहरुमा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै पारम्परिक तीज नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेको छ। सहभागी सबै समूहहरुले मनोयोगपूर्वक उत्कृष्ट प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भएका थिए।
कार्यक्रम अन्तर्गत विभिन्न समूहहरुले पारम्परिक तीज नृत्यका रंगीन प्रस्तुती प्रस्तुत गरेका थिए, जसले सांस्कृतिक विविधता र स्थानीय पहिचान झल्काएको थियो।
निर्णायक मण्डलमा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक शरदा सोती शर्मा र नृत्य निर्देशक संगीता खड्गीले प्रस्तुतीको तालमेल, मौलिकता, पोशाक र समग्र प्रस्तुतीलाई आधार मानेर समूहहरूको मूल्यांकन गरेका थिए।
कार्यक्रमका अतिथि, नृत्य निर्देशक तथा सहयोगीहरूलाई आयोजक संस्थाका अध्यक्ष प्रेमलाल श्रेष्ठले मायाको चिनो अध्यक्षले प्रदान गरेका थिए ।

