साउन ११, काठमाडौं । काठमाडौंमा तरकारी किन्न गएकी एक महिलाको सुनको सिक्री लुटिएकोे छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित तरकारी बजारमा शनिबार बिहान साढे ७ बजे तरकारी किन्ने क्रममा ती महिलाको सिक्री लुटपाट भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले सामाखुसी टाउनप्लानिङ बस्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको दुई तोला २५ लालको सिक्री लुटपाट भएको बताए । उक्त सिक्री चार लाख ३८ हजार ७७ रुपैयाँ बराबरको हो । घटनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तारकेश्वर बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन् । उनीहरुबाट सिक्री, आइफोन र सामसुङको फोन बरामद भएको प्रहरीले जनाएको छ ।

