अक्सिजन प्लान्ट खरिदमा एक करोड बढी भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा

असार २२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रदेश र संघ सरकारको गरी एक करोड ५५ लाख रुपैयाँ विनियोजन भएको योजनामा प्राविधिक मापदण्ड विपरीत प्रविधि छनोट गरी खरिद प्रक्रिया मिलेमतोमा अघि बढाइएको आयोगको दाबी छ ।

विशेष अदालतमा दायर आरोपपत्रमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, तत्कालीन लेखा अधिकृत हरिबहादुर खपाङ्गीमगर तत्कालीन ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रालि तथा उक्त प्रालिका अध्यक्ष तथा प्रोप्राइटर सोबित प्रसाई लगायतले प्राविधिक मूल्याङ्कनमा ‘सेटिङ’ मिलाएर कम गुणस्तरको प्रविधि छनोट गराएको उल्लेख छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा अक्सिजन प्लान्ट खरिदका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड र प्रदेश सरकारबाट ५५ लाख रुपैयाँ प्राप्त गरेको थियो । आरोपत्रमा भनिएको छ, ‘प्रतिवादीबीच आपसी मिलेमतोमा कम गुणस्तर र फरक प्रविधिको सामग्री उपलब्ध गराउने निर्णय गरिएको हो । स्वीकृत मापदण्ड विपरीत झुट्टा कागजात पेश गरेर शुभारम्भ सर्भिस ट्रेडर्सको एक करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसाको बोलपत्र स्वीकृत गरिएको हो ।’

शुभारम्भ सर्भिस ट्रेडर्ससँग सम्झौता गरिएपछि १२ लाख अग्रिम भुक्तानी समेत गरिएको आयोगको दाबी छ ।प्लान्टसम्बन्धी सामग्री नगरपालिकामा दाखिला भइसकेको भए पनि त्यसले सार्वजनिक खरिद ऐन, नियम र प्राविधिक मापदण्ड उल्लंघन गरेको अख्तियारको निष्कर्ष छ ।

अख्तियारले उनीहरू उपर सार्वजनिक पदको दुरुपयोग, झुटा कागजात पेश, प्राविधिक मूल्याङ्कनमा बेइमानी, र भ्रष्टाचार सम्बन्धी अभियोगमा कारबाही माग गर्दै मुद्दा दर्ता गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.