एएफसी महिला एसियन कप छनोटः श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

असार १८, काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलंका विरुद्धको खेलमा नेपालले ८-० को फराकिलो जित निकालेको छ।

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकमा नेपालले जित हासिल गरेको हो। योसँगै जारी छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ।

त्यस्तै नेपालका लागि कप्तान साम्बाको ह्याट्रिकसँगै गीता रानाले २, निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक एक गोल गरे। खेलको सुरूआतमा नै नेपालले पहिलो अग्रता लिएको थियो। खेलको सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन्।

त्यसैगरी, खेलका खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो। जसमा सावित्राले गोल गरिन्। त्यसपछि खेलको ४२औँ मिनेटमा सावित्राले फ्रि–किकमाफर्त टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा सावित्राले गोल गर्दै टोलीलाई ४-० गोलको अग्रता दिलाइन्।

खेलको ५३ औं मिनेटमा श्रीलंकाकी सचिना डि सिल्भाले नेपालकी रश्मी कुमारी घिसिङलाई बक्स भित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गीता रानाले गोल गरिन्। यो सँगै नेपालले ५-० को अग्रता बनायो।

यस्तै ६२ औं मिनेटमा निशा थोकरले गोल गर्दै टोलीलाई ६-० गोलको अग्रता दिलाइन्। खेलको ७८ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् भने ८९ औं मिनेटमा पुजाको गोलमा नेपाल ८-० ले विजयी भयो।

नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। यता श्रीलंका भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को फराकिलो अन्तरमा हारेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.