जापान एयरलाइन्सलाई नेपालमा उडान सुरु गर्न आग्रह

जेठ ८, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जापानका परराष्ट्रमन्त्री इवाया ताकेशीसँग भेटवार्ता गरी जापान एयरलाइन्सको नेपालमा उडान सुरु गर्न आग्रह गरेकी छन् ।

बिहीबार टोकियोस्थित जापानको विदेश मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री राणाले सो प्रस्ताव राखेकी हुन् । जापानी समकक्षी ताकेशीले यसलाई सकारात्मक रूपमा सहजीकरण गर्ने आश्वासन दिएको मन्त्री राणाले बताएकी छन् । भेटवार्तालाई फलदायी बताउँदै मन्त्री राणाले सगरमाथा संवादमा जापानको सहभागिताप्रति धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, “नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा हाम्रो दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउँदै आपसी हितका लागि नयाँ सम्भावनाहरू खोज्नेछौँ ।”

मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जापान पुगेकी हुन् । एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठानद्वारा आयोजित उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, उच्च सरकारी अधिकारी र सामाजिक अभियन्ताहरू सहभागी छन् । ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक) र सुरक्षित मातृत्व सञ्जालमार्फत नेपाली महिलाहरूको आर्थिक र सामाजिक उत्थानमा सक्रिय मन्त्री राणालाई सम्मेलनको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो ।

जापान बसाइका क्रममा उनले थप द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शनिवार स्वदेश फर्कने कार्यतालिका छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.