पाथीभरा दर्शनमा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चारजनाको मृत्यु (नामवलीसहित)

वैशाख ८, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडकखण्डमा सोमबार बिहान पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको ज्यान गएको छ ।

ताप्लेजुङबाट पाथिभरा मन्दिर जानेक्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार लत्रिएर मे १ ज ३०११ गाडीमा आगो लाग्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, उनका श्रीमान् झापाकै वर्ष ७० का विनोद पौडेल रहेका छन् ।  गाडीमा ६ जना रहेका थिए । अन्य ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाईते सविनाको अवस्था गम्भिर रहेको र उनका छोरा घाईते अभियमको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मृतक आध्या घाईते सविनाको छोरी र सरिता र विनोद पौडेल सविनाको बुबा आमा रहेको जनाइएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

पाथीभरा दर्शनका लागि आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आईपुगेका उनीहरु होटेल प्यारिजमा बसेर सोमबार बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि निस्केका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.