तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको गुनासो

चैत २८, काठमाडौं । विश्वसम्पदा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएर विश्वसम्पदा सूचीमै सूचीकृत स्वयम्भू क्षेत्रमा समाप्त हुने तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको सरोकार भएकाहरूको गुनासो छ ।

तेमाल जात्राका बारेमा तामाङ पत्रकार सङ्घले बुधबार आयोजना गरेको अन्तरक्रियामा काठमाडौँ महानगरपालिका–१५ का वडाअध्यक्ष ईश्वरमान डङ्गोलले जात्रा स्वयम्भू क्षेत्रमा टुङ्गिने भए पनि यो क्षेत्रमा स्थायी खालको व्यवस्थापन समिति नबन्दा जात्रामा सांस्कृतिक अतिक्रमण सुरु भएको बताए ।

ऐतिहासिक जात्रा मनाउन स्थायी खालको मूल व्यवस्थापन समिति नभएकै कारण समस्या आएको बताए । तेमाल जात्रामा तामाङ मौलिक गीत, फापरे गीत गाउनुपर्नेमा डिजे गीतहरूले अतिक्रमण भइरहेको डङ्गोलको भनाइ थियो । यस्तो विकृति रोक्न तामाङ समुदाय नै लाग्नुपर्ने उनको सुझाव थियो ।

अनुसन्धानकर्ता रवीन्द्र तामाङले तेमाल जात्राका अवसरमा राज्यले दुई दिन सार्वजनिक बिदा दिनुपर्ने माग राखे । जात्राबारे प्रस्तुति दिँदै उहाँले तेमाल नेपालकै पहिलो ऐतिहासिक जात्रा भएको दाबी गरे । स्वयम्भूको उत्पत्तिसँग जोडिएको तेमाल जात्राको महत्व दर्शाउन सार्वजनिक बिदा दिनुपर्ने उनको भनाइ थियो ।

तामाङको प्रस्तुतिमा लेखक मोक्तान दुववाङ्गेल र पत्रकार मायालु ङेसुरले टिप्पणी गरेका थिए । लेखक मोक्तानले इतिहासलाई वैज्ञानिक आधारसहित लेख्न नसके असफल हुने बताए । तेमाल जात्राको नामकरण बौद्धकै बासिन्दाले गरेकाले नाममा विवाद निकाल्न नहुने उनको भनाइ थियो ।

अनुसन्धानकर्ता अजितमान तामाङले सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक हिसाबमा आएको यस जात्रामा मीठा खानेकुरासमेत खाइने बताए । जात्रा काठमाडौँका विभिन्न भागमा अरू जातिले पनि मनाउने उनको भनाइ थियो ।

अन्तरराष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले यो पर्व तामाङहरूको पहिचान भएको बताए । पर्यटन व्यवसायी एवं तामाङ रिमठिम पर्यटन समाजकी अध्यक्ष सरिता लामाले पर्यटकलाई आकर्षित गर्न तेमाल जात्राको पूर्वाधार आवश्यक रहेका बताए । तेमाल जात्राको ट्रेल र पूर्वाधार तयार भए पर्यटकलाई सम्पदा घुमाउन सहज हुने लामाको भनाइ थियो ।

चैत्र शुक्ल पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुने तेमाल जात्रा भोलिपल्ट अर्थात् वैशाख कृष्ण प्रतिपदाका दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझपख आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुने परम्परा छ । यसपटक यो पर्व चैत २९ गते र ३० गते परेको छ ।

जात्रा मनाउन बागमती प्रदेशका तामाङहरू काठमाडौं आउने गर्छन् । बौद्ध तामाङ कल्याण गुठीले बौद्ध क्षेत्रमा यो जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । (रासस)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.