नक्कली सवारी लाइसेन्स बेचेर मासिक ३ करोड कमाई

चैत २७, काठमाडौं । बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्। उनीहरूलाई बाँके जिल्लाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

टंगालस्थित अख्तियारको मुख्य कार्यालय, बुटवल सम्पर्क कार्यालय र नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता पौडेलले बताए। यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोड भन्दाबढी रकम संकलन गर्ने गरेको सूचना तथा उजुरीको आधारमा टोली खटिएको थियो। टोलीले विद्युतीय उपकरणसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पौडेलले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.