चैत ६, काठमाडौँ । १० वर्ष मिहेनत गरेर आफ्नो परिक्षणकालको पूर्वसन्ध्यामा रहेका विद्यार्थीहरूलाई त्रासमा पार्ने गरि अभिव्यक्ति दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काप्रति अभिभावक र विद्यार्थीहरू आक्रोसित बनेका छन् । मन्त्री खड्काले बुधबार राष्ट्रियसभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै अब साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएपछि एसइइको तयारीमा रहेका विद्यार्थीहरूमा त्रास पैदा भएको छ ।
नेपालमा फेरि लोडसेडिङ हुने भनी जिम्मेवार व्यक्तिबाटै भाषणबाजी हुनथालेपछि नेपाल विद्युत् प्राधिकरणले त्यसलाई नकारिदिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन्। उर्जामन्त्री खड्काले अब घरमै लोडसेटिङ हुने अभिव्यक्ति दिएपछि प्राधिकारणका कार्यकारी निर्देशक घिसिङले भाषणको पछि नलाग्न सेवाग्राहीलाई अनुरोध गरेका छन् । निर्देशक घिसिङले विद्यार्थी र अभिभावकलाई समेत ढुक्क हुन आग्रह गर्दै राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो आयात भइरहेकाले लोडसेडिङ नहुने स्पष्ट पारे।
तर ऊर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको दाबी गरेका थिए। सो क्रममा उनले घिसिङलाई ‘उज्यालो नेपाल’को नायक नभएको समेत बताएका थिए। सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले जम्मा ७ सय मेगावाट बिजुली मात्र उत्पादन गरिरहेको मन्त्री खड्काको भनाइ थियो। ८३० मेगावाट बिजुली आयात गरेर नेपालको आपूर्ति धानिरहेको उनको भनाइ थियो।
तर कुलमानले भने लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह गरे। उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था छैन। कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरु राति चल्छन्’, उनले थपे, ‘करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छ। १००० प्लस रनअफ रिभर गरी १६÷१७ सय मेगावाट आयोजना चल्छ।’
यस्तो अवस्था रहेकाले लोडसेडिङ हुने हल्लामा नदौडिन उनको आग्रह छ। कार्यकारी निर्देशक घिसिङका अनुसार नेपालमा पिक टाइममा करिब १८÷१९ सय मेगावाट बिजुलीको माग हुन्छ। तर त्यसलाई प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएको उनको भनाइ छ। उनले भने, ‘केही उद्योगलाई हामी पिक टाइममा चलाउन दिँदैनौँ। त्यति हुँदा हामीलाई बिजुली मज्जाले पुग्छ।’

