पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन

चैत ३, काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।

आइतबार त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन्।

उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्। निर्देशन दिएकामध्ये उपत्यकाका छ र उपत्यका बाहिरका नौ आंगिक क्याम्पस रहेका छन्।

“त्रिविका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते स्वविुय निर्वाचन सम्पन्न गर्नुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको हो?”, सदस्यसचिव अधिकारीले जारी गरेको पत्रमा प्रश्नसहित भनिएको छ, “सम्बद्ध पक्षसँग समझदारी गरी जुन अवस्थामा र प्रक्रियामा रोकिएको हो सोही अवस्था र प्रक्रियाबाट स्ववियु निर्वाचन कार्य तत्कालै अगाडि बढाउन निर्देशन गरिन्छ।”

उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोविचौर, शंकरदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढेको छैन।

यस्तै, उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुव रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढेको छैन।

त्रिविअन्तर्गतका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार (चैत ५) का लागि एकैदिन स्ववियु निर्वाचन घोषणा गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.