“नारी र मार्च – ८”

नारीलाई कहिले देवीहरुको प्रतिमूर्ती दुर्गा, सरस्वती, लक्ष्मी ईत्यादीको रुपमा पुजिने गरेको पाईन्छ । नारीलाई धर्तीको रुपमा प्राकृतिक शक्तिसंग तुलना गरेको पनि पाईन्छ । नारी ममताको खानी हुन्, नारी सहनशिलताको मुहान हुन् त्यति मात्र नभई नारी परिवारकी रानी हुन् । छोरी हॅुदा नारी परिवारकी खुसी हुन् बुहारी हुॅदा नारी घरकी लक्ष्मी हुन्, श्रीमती हॅुदा नारी जिवन संगिनी हुन्, आमा हॅुदा नारी सन्तानको सबथोक हुन् । यी त भए जिम्मेवारीले, सामाजिक मूल्य मान्यताले दिएको परिभाषा ।

अंग्रेजी भाषाको शाव्दिक अर्थमा नारीलाई ‘एन एडल्ट फिमेल हुम्यान् बिं’ भनेर भनिन्छ । जे होस् नारीलाई जे सुकैको रुपमा लिए पनि जसरी परिभाषा गरे पनि उनीहरुको स्वतन्त्रता, आत्मसम्मान र प्रतिष्ठालाई ध्यान दिन जरुरी देखिन्छ। नजिकको छिमेकी देश श्रीलंकाले सन् १९६० मा विश्वकै प्रथम महिला प्रधानमन्त्री पाईसकेका थिए । सन् २०२५ को विश्वकै धनी महिला एलिस् वाल्टन लाई हेर्नुस् । यी त भए विश्वका कुरा । नेपालकै हेरौॅ, महिला राष्ट्रपति, महिला प्रधानन्यायाधिश्, महिला सभामुख, महिला मुख्य सचिव, महिला एआईजिपी, लगाएत अति विशिष्ट, विशिष्ट ओहोदामा महिलाको सहभागिता मात्र होईन अब्बल्, सक्षम् र सफल कार्य सम्पादन समेत गरेका छन् । त्यसो त किन अझै महिला महिला भन्दै वकालत गर्नु परिरहेको त ? महिला वा नारीले गर्न नसकेको के ?

कहिले सम्म बेईजिङ सम्मेलनको रिभ्यू गरिरहने ? नेपाल प्रहरीको केन्द्रीय तथ्यांक अनुसार बार्षिक सत्र हजारको हाराहारीमा घरेलु हिंसा सम्बन्धी उजुरी परेको देखिन्छ । बाटोमा हिड्ने वटुवाले त जिब्रो पट्काएर जिस्काउन खोज्छन् महिलालाई । घर भित्रै कसरी हिंसा भयो ? अनि कसरी हिम्मत गर्ने ती बटुवालाई प्रतिकार गर्न ? कुन मनोबलले काम गर्ने त ? को हुन् त घर भित्रै हिंसाको वातावरण सृजना गर्ने जिम्मेवार व्यक्ती ? हरेक पल, हरेक क्षण, हरेक समयमा महिला वा नारी भएकै कारण उनीहरुले भोग्नु परेको उपेक्षा, अवहेलना, तिरस्कार, हेपाई ईत्यादीलाई बाहिर ल्याईएको छ त ? के कस्ता समस्याहरु झेलीरहेका छन् त नारीहरु वा महिलाहरुले ? जो सुकैले अनुमान गर्न सक्ने तवरले हेरॅौ है त !

जन्मदेखि नै छोरी भनेर नाक खुम्च्याउदै उनीहरुको हुर्कने, बढ्ने, सिक्ने तथा वृद्धि विकासको उमेरमा प्रशस्त माया, मनोवैज्ञानिक र अन्य सहयोगको आवश्यक्ता परेको बेला विभिन्न खाले धार्मिक, साँस्कृतिक र सामाजिक व्यवधानहरु खडा गरिदिएको हुन्छ । त्यो उमेरमा भने जस्तो, चाहे जस्तो फैलिन, हुर्कन पॅाउदैनन्। उदाहरणको लागि काँक्रोलाई प्रशस्त टेका दिएर पानी, मल जल पुगेमा भने जस्तै फल्छ । जब आफ्नो बारेमा केही बुझ्न सुरू हुन्छ त्यो समय आफ्नो हुदॅैनन् । श्रीमान सासु, ससुरा, घरका अन्य सदस्यलाई चित्त बुझाउनमै ठिक्क । कति महिलाहरूलाई त विवाह पछाडि उच्च शिक्षा लिन, घर बाहिर गएर काम गर्न, सामाजिक कार्यमा सक्रिय हुन रोक लगाएको देखिन्छ भने कतिले त शहास नै गरिदैनन् । बाहिर गएर काम गरौँ घर हेर्दैन भन्ने, घर बसेर परिवार हेरौँ केही गर्दैन, काम छैन भन्ने । एउटा सानो उदाहरण हेरॅौ, जसरी पुरूषहररू बिना काम राति अवेरसम्म बाहिर बस्ने, खाने, रमाउने गरिन्छ, त्यसै गरी महिला सहकर्मीले पनि रमाएर हेरॅौ न । के हुन्छ परिस्थितीरु हरेक कोणबाट प्रश्न चिन्ह खडा हुन्छ । अझ मलाई लाग्छ २४ घण्टा नपुग्दै पारपाचुकेको प्रकृया थालनी हु्न्छ । यो त एकदमै सामान्य उदाहरण हो । यो भन्दा दर्दनाक शारिरीक, मानसिक, यौनिक, आर्थिक र मनोवैज्ञानिक सममस्याहरुबाट गुज्रिरहेका छन् महिलाहरु ।

सबै भन्दा बढी महत्वपूर्ण समय जुन उमेर सिकाई, खटाई, कमाई, अस्तित्व निर्माण र व्यक्तित्व विकासको हो, यस्तो बेला खुम्चिएर, दबिएर, पिल्सिएर, थिचिएर बस्नु पर्दा उनीहरुको मनोवैज्ञानिक, व्यक्तित्व विकास लगाएतमा कति असर र क्षती परेको होला ? के हामीले अनुमान गर्न सकिन्छौँ ? जब प्रौढ अवस्था सुरु हुन्छ उनिहरुले भोगेका समस्याहरुको शारीरीक र मानसिक असर देखिन थाल्छ। बिस्तारै थलिन थाल्छ, विभिन्न रोगहरुको सिकार बन्छ । बर्षै पिच्छे बच्चा जन्माएर भित्र भित्रै खोक्रियका पाठेघरमा समस्या देखिन थाल्छ ।

यस्तै यस्तै कहाली लाग्दो समस्याहरुबाट नेपाली महिलाहरु गुज्रीरहेका छन् । कर्णाली, मधेश, हिमाल र काठमाडौँका महिलाको समस्यालाई एउटै टोकरीमा हेरेर हुदैन । महिलालाई भौतिक वा देखिने गरी मात्र बलियो बनाएर हुदैन । उनीहरुको मानसिक र मनोवैज्ञानिक अवस्था, स्वभिमान, आत्म सम्मान, नेतृत्व, अवसर, क्षमता लगायतका पक्षहरुलाई पनि ध्यान दिनु आवश्यक देखिन्छ ।

विभिन्न सप्ताह, दिवश भन्दै देखावटी कार्यक्रमहरु हुने गरेको देखिन्छ तर महिलाको वास्तविक पिडाहरुमा पुग्न सकेको देखिदैन। जतिसुकै शिक्षित र शक्तिशाली महिला भएपनि घर परिवार वा सहकर्मीको अपमानित व्यवहारहरुले मन अमिलो पारेर जिईरहेको पनि पाईन्छ । जे होस् नारी वा महिला जे भने पनि सबैभन्दा पहिले उनी मानव भनौँ या मान्छे भनौँ एक सचेत प्राणी हो । उनीहरुको समस्यालाई छलफल, बहस, अध्ययन गरी समाधान गर्नु पर्ने देखिन्छ । सर्वोच्च ओहोदा वा मुख्य भूमिकामा महिलालाई पनि स्थान दिन अझ लचक्ता अपनाउने हो की ? कसको भूमिका के रहन्छ सुरुवात गर्न ढिला भयो की ? खाली भाषण, कार्यक्रम र प्रमाण पत्र वितरणमा सिमित नराख्ने की ?

फुलमाया घिसिङ
प्रहरी निरीक्षक
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.