प्रधानमन्त्रीको ओलीको अभिव्यक्तिप्रति शिक्षकहरूको आपत्ति

फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि एसइई परीक्षामा फेल गराउनेगरी पढाउने शिक्षकहरूको तलब वृद्धि नहुने,कक्षा कोठामा गएर नपढाउने गरेको लगायत अभिव्यक्ति दिएपछि शिक्षकहरूले उनको आलोचना गरेका छन्।

गत मंगलबार प्रधानमन्त्री ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा सम्बोधन गर्दै शिक्षकहरूले कक्षाकोठामा गुणस्तरीय शिक्षारज्ञान दिन नसकेको भन्दै आक्रोश पोखेका थिए। उनले भनेका थिए,‘म ग्यारेन्टीका साथ भन्छु हाम्रो युवा पुस्ता बुद्धु छैनन्, टयालेन्ट छन् तर राम्रो पढाउन सक्दैनौँ, सुविधा दिँदैनौँ, ज्ञान सम्प्रेषण राम्रो गर्न सक्दैनौँ। त्यो कमजोरी विद्यार्थीलाई बोकाउने?, तीन घण्टा धाएर स्कुल गएको छ, कहिले शिक्षक छैनन्, कोही निरीक्षणमा जाँदैन र एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुन्छन्,अस्थायी र करारलाई स्थायी गरिदेऊ भनेको छ, तलब पुगेन बढाऊ भनेको छ, किन तलब बढाउने ?, ४८ प्रतिशत पास गर्न ?,५२ प्रतिशत फेल गर्न?’

ओलीको उक्त अभिव्यक्तिप्रति घोर आपत्ति रहेको नेपाल शिक्षक महासंघका तत्कालीन अध्यक्ष कमला तुलाधारले बताएकी छन्। उनले सामाजिक सञ्जालबाट भनेकी छन्,‘शिक्षकका मनोबल गिर्ने अभिव्यक्तिप्रति मेरो घोर आपत्ति छ।’ नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले पनि उक्त भाषणप्रति असहमति जनाएका छन्। उनले आन्दोलन नै गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्,‘सम्मानीय प्रधानमन्त्रीज्यूको भाषणको प्रतिक्रिया भनेको अब निर्णायक आन्दोलन नै हो त्यसो हुँदा आन्दोलनको निर्णय भनेको हाम्रा मागहरू सम्बोधन हुनका लागि अब अन्तिम समय हो।’

अरू शिक्षकहरू पनि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाइरहेका छन् । उनीहरू प्रधानमन्त्री ओलीको अभिव्यक्ति शिक्षकहरूको मनोबल गिराउने र शिक्षकप्रति सम्मान नभएको बताएका छन् । नेपाल शिक्षक महासंघ र एमालेकै निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि उक्त भाषण गलत रहेको भन्दै उक्त आरोप स्वीकार नगर्ने जनाएको छ। प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा अन्य शिक्षकहरूले पनि सामाजिक सञ्जालमा निकै विरोध जनाएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.