असोज ११, काठमाडौं । पर्यटन वर्ष २०२० को लोगो डिजाईनर उद्धबराज रिमाल सम्मानित भएका छन् । आज ३९ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले रिमाललाई नगद १ लाख सहित प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
नेपालमा पर्यटन विकासका लागि सन् २०२० मा २० लाख पर्यटन भित्राउनका लागि सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । पर्यटन वर्षलाई लक्षित गरी नेपालको प्रकृति, कला, संस्कृति झल्कने लोगो बनाउन नेपाल पर्यटन बोर्डले सूचना प्रकाशित गरेकोमा देशै भरीबाट प्रतिश्पर्धामा भाग लिएका १४६ लोगो मध्येबाट रिमालको लोगो सर्वोत्कृष्ट भएको हो ।

नेपाल बहुआयामिक पर्यटन क्षेत्रः मन्त्री अधिकारी
३९ औं विश्व पर्यटन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपाल बहुआयामिक पर्यटन क्षेत्र भएकोमा जोड दिंदै आन्तरिक र बाह्य पर्यटक, हवाईमार्ग र सडक मार्गबाट आउने पर्यटनका साथै ग्रामिण र आधुनिक पर्यटनको विकासका लागि पर्यटनसम्वद्ध सबै पक्षहरुका बीचमा सहकार्य र समन्वयको आवश्यकता औंल्याए ।
मन्त्री अधिकारीले पूर्वाधारको विकास विना पर्यटनको विकास सम्भव नभएकोले ठूला आयोजनाहरुलाई कुनै पनि वहानामा बन्न नदिने कार्य विकास विरोधी भएको बताए । उनले वातावरण संरक्षण र विकास सँगसँगै जाने भएकोले विकास कार्यमा सबैले सहयोग गरे देश समृद्धिको दिशामा अझै छिटो लम्किने बताए । उनले बर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपाली भन्ने सपना साकार गर्न प्रतिबद्ध भएकोले सरकारले पर्यटनलाई देश विकासको प्रमुख आधारको रुपमा स्विकारेको बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटन बोर्डले पर्यटन विकासका लागि सबै सरोकारवालाहरु बीचमा सहकार्यको बातावरण तयार गर्न भूमिका खेलिरहेकोमा जोड दिए ।
तस्बीरः रविराज रिमाल

