पुस १५, काठमाडौँ । गोकर्णेश्वर नगरपािलकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । नगरपालिका स्थित वडा नं. २ मा रहेको श्री बाल सुधार माध्यामिक विद्यालयको प्राङ्गणमा आज (सोमबार) एक विशेष कार्यक्रमका विच उद्घाटन भएको हो ।
गोकर्णेश्वर नगर युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रतिनिधि सभा सदस्य एवम् अर्थ समितिका सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य शान्ती श्रेष्ठ, संविधान सभा सदस्य रामेश्वर फुयाँल, नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा लगायत वडा अध्यक्षहरूले उद्घाटन गरेका हुन् । हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड अन्तरगत कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ विद्याको खेलमा प्रतिस्पर्धा गराइनेछ ।

उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका ३४ वटा सामुदायिक तथा नीजि शैक्षिक संस्थाका खेलाडीहरू सहभागी भएका छन् । ती प्रतिस्पर्धीहरूबाट विजयी हासिल गर्न सफल खेलाडीले जिल्ला स्तरीय खेलमा सहभागी हुन पाउने र क्रमशः जिल्ला हुँदै प्रदेश र राष्ट्रिय खेलमा सहभागी हुन पाउने आयोजकले बताएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका संघीय सभा सदस्य एवम् अर्थ समितिका सभापति सन्तोष चालिसेले खेलाडीहरू शुभकामना व्यक्त गर्दै खेल जीवनले समाजमा आत्मानुशासन ल्याउन सघाउने बताए । सामाजिक परिवर्तनका लागि खेलाडीहरूले महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय तहबाटै खेलाडी उत्पादनलाई जोड दिनुपर्ने बताए । यसअघि आफु त्यस नगरको प्रमुख भएको वर्षबाटै सुरू गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अहिले ७ औँ वर्षमा प्रवेश गरेकोमा गर्वबोध गरे । सांसद चालिसेले खेल क्षेत्रको विकास र आवश्यक पूर्वाधार निर्माणमा आफ्नो निर्वाचन क्षैत्र विकास कार्यक्रमबाट बजेट विनियोजित गर्ने प्रतिवद्धतता गरे ।

त्यस्तै प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठले खेलाडीको आवश्यकतालाई सहज बनाउन सरकार लाग्नुपर्ने बताईन् । खेलाडीहरूकै कारण राष्ट्रलाई विश्वसामु चिनाउन सफल हुने र अर्थतन्त्रमा फेरबदल ल्याउन सघाउने बताउँदै राज्यले खेलाडी उत्पादनमा लगानी गर्नुपर्ने तर्क राखिन् । वर्तमान समयले मागेको विभिन्न विद्यागत खेलहरूमा स्थानीय स्तरबाटै लगानी बढाउनुपर्नेमा जोड दिइन् ।

संविधानसभा सदस्य एवम् बागमति प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले शान्ति र समृद्धिको लागि खेलाडीको भूमिका औल्याउँदै खेलाडीको आत्मबल बढाउन सहज वातावरण निर्माण गर्नुपर्ने बताए । खेल क्षेत्र विश्व मञ्चमा प्रर्दशन गर्न सक्ने माध्यम भएकोले व्यवस्थित र न्यायसंग राज्यको लगानी हुनुपर्ने बताए । सामाजिक चेतनाम र अनुशासनको दायरा कायम गरि युवाहरूलाई सामाजिक उत्तरदायि बनाउन खेलकुदले योगदान पु¥याउदै आएको बताए ।
नगरप्रमुख दीपक रिसालको सभापतित्वमा भएको उद्घाटन समारोहमा भएको मार्च तथा विभिन्न खेल विद्याका प्रर्दशनमा विजयी हासिल गरेका खेलाडी तथा विद्यालयहरूलाई उपप्रमुख सान्नानी लामा लगायत वडाध्यक्षहरूले प्रमाणपत्र वितरण गरेका थिए । उद्घाटन समारोहमा भएको प्रस्तुतिको नतिजा यस्तो छ ।

