भ्रमणको औचित्य पुष्टि गर्न नसक्दा मन्त्री अधिकारीको टोली एयरपोर्टबाटै फर्काइए

कार्तिक २२, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई जापानको अध्यागमनले प्रवेश अनुमति नदिई विमानस्थलबाटै फिर्ता पठाएको खुलेको छ । तर, मन्त्री अधिकारीले भने भ्रमण दलमा ‘नक्कली व्यक्तिहरू’ सहभागी भएकाले कार्यक्रममा सहभागी नभइ फर्केको दावी गरेका थिए ।

बुधबार पत्रकार सम्मेलन गरी उनले आफ्नो बचाउ गर्दै भनेका थिए, ‘भ्रमण दलमा नक्कली व्यक्तिहरू सहभागी भएको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई फर्केको हुँ ।’ तर, मन्त्री अधिकारीको भनाइ झुटो रहेको स्रोतको भनाइ छ । जापानको अध्यागमनले मन्त्री अधिकारीलाई पठाएको निमन्त्रणा पत्र र उनीसँग गएका व्यक्तिप्रति आशंका गर्दै विमानस्थलबाटै फर्काएको हो ।

स्रोतका अनुसार जापानको अध्यागमन अधिकारीले मानव तस्करीको आशंका गर्दै मन्त्री अधिकारीसहितका टोलीलाई करिब तीन घण्टा केरकार गरेको थियो । सोक्रममा भ्रमणको औचित्य पुष्टि गर्न नसकेपछि अध्यागमन अधिकारीहरूले मन्त्री अधिकारीको टोलीलाई नेपाल फर्काएको हो ।

मन्त्री अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । तर, त्यही निम्तोप्रति जापानको अध्यागमन अधिकारीले आशंका व्यक्त गरेका थिए । मन्त्री अधिकारीले नेपाल फर्किएपछि बुधबार पत्रकार सम्मेलन गरी ‘नैतिकताको आधारमा’ राजीनामा दिएको बताएका थिए । सोक्रममा आफूसँग गएका ‘नक्कली व्यक्ति’हरुलाई आफूले प्रहरीमा बुझाएको समेत दावी गरेका थिए ।

मन्त्री अधिकारीले आफ्नो भ्रमण टोलीमा कञ्चन देवकोटा, जनक राई, दावा शेर्पा र अनिता तिमल्सिनालाई सहभागी गराएका थिए । उनीहरूसँग मन्त्रालयको परिचयपत्रसमेत फेला परेको छ । उनीहरूमध्ये कञ्चन, जनक र दावालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.