कार्तिक २०, काठमाडौँ । रोशी गाउँपालिका वडा –३ भन्ज्याङ्गगाउँ स्थित ६९ बर्षिया माईली लामाको उनकै कान्छो छोरा २८ बर्षिय फुर्साङ्ग लामाले पैसाका लागि हत्या गरेको पुष्टी भएको छ ।
हत्या पछि उनले आमाको कानमा लगाएको २ तोला सुन सहित नगद लुटेको आज नेपाल प्रहरी काभ्रेले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । रगताम्मे भएको अवस्थामा लुटिएको सुन र चिनोका लागि ३ हजार पैसा समेत छिमेकीको शौचालय पछाडी खाडल खनेर पुरी ढुंगाले छोपेको उनको बायनका क्रममा सुनाएको बताए ।
२०७९ सालमा काठमाडौमा किनिएको २ तोला सुनको विल फुर्साङ्गले आमाको हत्या गर्नु अघि आफ्नै पर्समा राखेका थिए । विहान खाना पकाएर खान दिए पछि आलटाल गरिरहेका फुर्साङ्गले एकान्त समय भए पछि आमाको कानको मुन्द्रा लुट्ने योजनाका साथ शुरुमा दुईपटक लोहोरोले हानेका थिए । आमा रुन थाले पछि छिमेकीले थाहा पाउलान भनेर झ्यालको आग्लो निकाल्ने प्रयत्न गर्दा भाँचियो । अनि ढोकाको आग्लो निकालेर मरणासन्न हुने गरी कुटे । आमाले प्राण त्यागेको थाहा पाएपछि मुन्द्रा र नगद लुटेर हिडे ।
उनले लुटेको पैसा र सुन मार्फत आफ्ना प्रेमिकाहरुलाई बुझाउने र मस्ति गर्ने सोच बनाएका थिए । मोवाईलको रेकर्ड अनुसार फुर्साङ्गले विभिन्न समयमा फरक फरक महिलासँग सम्वन्ध राखेका क्लिपहरु पनि फेला परेका छन् । रात्रिकालीन ब्यवसायमा खाने, रमाउने र मस्ति गर्ने स्वभावका फुर्साङ्गले आमाको हत्या पनि त्यहि प्रयोजनका लागि पैसा जुटाउने उदेश्यले गरेको हुन सक्ने प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताईन् ।
प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा उनले हत्या स्विकार्दै आफ्नी प्रेमिकाले पैसा मागेको माग्यै गरे पछि कार्तिक १२ गते गाउँ आएर पैसाको जोहो गर्ने प्रयत्न गरेको तर केहि सिप नलागे पछि आमाको हत्या गरी आमाकै कानमा लगाएको गहना र केहि नगद लुट्ने योजना केहि दिन अघि देखि बनाएको बताएका छन् । घरमा कोहि नभएको मौका छोपी उनले कार्तिक १६ गते दिउसो आमाको हत्या गरेका हुन् । प्रहरीले तालिम प्राप्त कुकुर मार्फत गरेको अनुसन्धान तथा प्राप्त प्रमाणका आधारमा माईलीकै छोरा फुर्साङ्गले आमालाई लोहोरो र आग्लोले हानेर हत्या गरेको पुष्टी भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटनाका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो । माईलीलाई छोराले हत्या गर्ने समयमा बाबु साईलाकाजी वडामा सिफारिस लिन गएका थिए । जेठो दाई अन्यत्र काममा र माईलो दाई काठमाडौमा गुम्बामा लामाको काम गर्दै आएका थिए । उनी विवाहित भए पनि ७ दिनमा नै श्रीमती अन्यत्र गएकी थिईन् । हत्या पछि उनले नयाँ घटना सिर्जना गरेका थिए ।काठमाडौ बस्दै आएका फुर्साङ्ग कार्तिक १२ गते घरमा आएका थिए । तिहारको समयमा खसि किन्न गाउँमा नयाँ मान्छे आएको भन्दै त्यसको हुलिया समेत प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी उनले दिएको सूचनामा मात्रै अल्झिएन । कुकुर मार्फत केहि सूचना संकलन गरे पछि प्रहरीले अनुसन्धानको मियो उनै फुर्साङ्ग तर्फ सोझ्यो ।
उनको पर्समा सुनको विल फेला परेपछि प्रहरीले उनको मोवाईल जफत ग¥यो । डिटेल्स हेरे पछि उनी अनुसन्धानको घेरामा तानिए । उनीसँगै समातिएका अन्य दुई निर्दोष भएकाले प्रहरीले छाडिदियो । प्रहरीले केहि सूचना पाए पछि १६ घण्टा लामो बयानमा उनले सबै कुरा बताए । प्रेमिका, प्रेमिकाले पैसाका लागि दिएको दबाब र अन्य विषयमा प्रारम्भिक अनुसन्धान सकिएको भए पनि सार्वजनिक गर्न नमिल्ने एसपी खड्काले बताईन् । ‘पैसाकै लागि हत्या गरिएको खुलासा भएको छ’–एसपी खड्काले भनिन–‘अन्य विषय खुल्दै जानेछन् ।’ अभियुक्त सार्वजनिक गर्ने क्रममा डिएस्पी मिनबहादुर घले, प्रहरीनरिक्षकद्धय गिरी र कुँवर लगायतको सहभागिता रहेको थियो ।

