नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

असोज २०, भक्तपुर। नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ।

नेपाल पत्रकार महसंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो।

भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक-एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुंगाे लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए।

उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुंगाे लगाउने निर्णय गर्दै टुंगाे लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ।

नेपाल पत्रकार महासंघको सदस्यता विवादका कारण पटक-पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.