कालीञ्चोक मन्दिर दर्शनका लागि केबुलकार निर्माणको परीक्षण सफल

असोज १०, चरिकोट । दोलखाको कुरी बजार देखि कालीञ्चोक मन्दिरसम्म चल्ने मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्ष अघिदेखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको छ । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा १५ देखि २० दिन सम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो । दशैँ अघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए । दशैँ लगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र केही दिनको परीक्षण पश्चात मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए ।

२६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर ४० करोड पुगेको कम्पनीले जनाएको छ । शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्यवृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको कम्पनीका निर्देशक बालकृष्ण शिवाकोटीले बताए ।कालीञ्चोकको कुरीदेखि मन्दिरसम्म पुग्नका लागि एक किलोमिटरको उकालो हिँड्नुपर्ने भएका कारण कतिपय धार्मिक पर्यटक त्यही उकालो हिँड्न नसकी बीच बाटो बाटै फर्कने गरेका छन् । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ ।

कालीञ्चोकको कुरी बजारसम्म सडकको पहुँच पुगेको र केबुलकार निर्माण भएसँगै करोडौंको लगानीमा होटलसमेत सञ्चालनमा आएको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालीञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.