अविरल वर्षासँगै रोशी गाउँपालिकामा ठूलो धनजनको क्षति, फोन सम्पर्कमा समस्या

असोज १२, काठमाडौँ । तीन दिनदेखि निरन्तर रूपमा परिरहेको वर्षादका कारण काभ्रेको रोशी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको छ ।

वर्षादका कारण बाढी पहिरोबाट रोशी गाउँपालिका वडाहरू १, २, ३ र ९ मा पक्की घरसहित थुप्रै संरचना भत्किएका छन् । वडा १ अन्तरगत खहरेपागुँ, डुम्बर, सानुभुग्देउ, पटुवाल, नारायणटार र ताङलिङ लगायत गाउँमा बाढी र पहिरोले घर तथा गोठहरू बगाएका छन् । त्यस्तै वडा २ मा काफलडाडा, भुसुने, पुरानो गाउँ, गुम्बा गाउ, ठूलो गाउँ, थापा गाउँ, चण्डीवेँशी र फलामसाँघुमा ठूलो धनजनको क्षति पु¥याएको छ । वडा ३ अन्तरगत भण्डारेखोला, मझुवा, मसरङ्गी, भदौरे, छाप, साँझाकोट, निंगाले, शिखर, स्याले लगायत थुप्रै बस्तीमा बाढी र पहिरोले क्षति पु¥याएको छ ।

भण्डारेखोलाले बगाएर एक जना बेपत्ता र एक जनाको शब भेटिएको स्थानीयहरूले बताएका छन् । त्यस्तै मझुवा गाउँमा ठूलो पहिरो परेपछि गाउँलेहरू सुरक्षित स्थानतर्फ लागेका छन् । सो गाउँमा एउटा घर भत्केर एक जना महिला पुरिएको खबर भए पनि उद्वार गर्न कठिनाई भएको स्थानीयहरू बताउँछन् । विजुली बत्तिको प्रसारण पनि बन्द भएपछि मोबाइल चर्च गर्न नपाउदा सम्पर्कमा निकै समस्या आईरहेको स्थानीय पूर्णमान लामा र जीतबहादुर लामाले जानकारी दिए ।

दर्जनौ घरहरू पहिरोको जोखिम रहेको छ, खानेपानीका लाईनहरू चुँडिएर बन्द छ, त्यस्तै एक घरबाट अर्को घरका मानिसबीच ओहोरदोहोरमै समस्या भइरहेको उनीहरू बताउँछन् । भण्डारेखोला र अधेरी खोलाको भेल बढ्दै गइरहेको छ । सुरक्षित ठाउँ जान समेत मुस्किल परिरहेको उनीहरूले बताए । फोन सम्पर्कमा समस्या भएका कारण पल्लो घर र ओल्लो घरमा समेत सम्पर्क हुन नसकिएको बताउँदै हालसम्म सम्बन्धित निकायबाट उद्वारको कार्य नभएको बताए ।

त्यस्तै फलामेसाँघु बसपर्क तथा निर्माणाधीन रहेको सामुदायिक अस्पताल नै डुबानमा परेको छ । त्यस वरिपरिका सबै बस्ती डुबानमा परेको दृश्यहरू स्थानीयहरूले भिडियोमार्फत जानकारी दिइएका छन् ।   नारायणटार बगर पनि पूर्ण रूपमा क्षति भएको छ । रोशी– १ फलामेसागु बजारका सबै घरहरु तथा कटेज,बगाइएका छन् भने नक्कलीडाडा आसपासका ३० घर जोखिममा रहेको स्थानीयहरूले बताएका छन् ।  रोशी खोलामा आएको बाढीले वडा नम्बर ९ मा पर्ने नार्के बजार बगाएको छ । पक्का घरहरु नै बगेका छन् । कालढुंगा बजारमा समेत घरहरुमा क्षति भएको छ । तर उद्वार कार्यमा भने ढिलासुस्ती रहेको पीडितहरू बताउँछन् ।  पानीको अवस्था अझै स्थीर नै रहेकोले त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.