२९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन दाङमा हुँदै

भदौ २४, दाङ । नेपाल बालसाहित्य समाजले आयोजना गर्न लागेको २९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन यसपालि दाङमा हुने भएको छ ।

बालबालिकाका निम्ति बौद्धिक खुराक सिर्जना गर्ने कार्यमा संलग्न लेखक, चित्रकार, प्रकाशक तथा शिक्षकहरूको साझा संस्था नेपाल बालसाहित्य समाज, लुम्बिनी प्रदेश समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । आउँदो मंसिर ७ र ८ गते दाङमा हुने बालसाहित्य सम्मेलनमा बालबालिका केन्द्रीत कथा, कविता, निबन्ध, नाटक, अभिनय, नृत्य लगायतका सिर्जनात्मक कार्यशालाका साथै प्रतियोगिता समेत हुनेछ ।’ नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा बालसाहित्य सम्बन्धी कार्यपत्र प्रस्तुति हुनुका साथै विविध विचार विमर्श हुने समेत आचार्यको भनाई थियो । समाजका उपाध्यक्ष प्राडा कपिल लामिछानेले बालबालिकाका लागि बौद्धिक खुराक पस्कनु कठिन काम भएको बताउँदै यो सम्मेलनबाट दाङका बालबालिका र अभिभावकले राम्रो फाइदा लिनसक्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङको हलमा आयोजित उक्त पत्रकार सम्मेलनमा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासी, पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख नारायण पौडेल, गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरीका प्रिन्सिपल मानसिंह बूढा मगर लगायतले आफ्ना मन्तव्य राखेका थिए । समाजका उपाध्यक्ष प्राडा कपिल लामिछानेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा सम्मेलनको लोगो समेत सार्वजनिक गरिएको थियो भने कार्यक्रमको सहजीकरण नेपाल बालसाहित्य समाज, लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य बिसीले गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.