सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्छ– मन्त्री अधिकारी

असोज ५, भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभएको छ ।

आज पुरातत्व विभाग स्मारका संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा उहाँले सम्पदा पुनःनिर्माण गर्दा संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र पुरातत्वको मापदण्डअनुसार निर्माण हुनुपर्ने बताउनुभयो । मन्त्री अधिकारीले ढुङ्गेधारासम्मको बाटो र चाँगुनारायण मन्दिरमा बन्न बाँकी रहेको चौघेरा सत्तलको पुनःनिर्माण छिटो गर्न मन्त्रालयलये पहल गर्ने आश्वासन दिनुभयो ।

उहाँले भक्तपुर जिल्लाका प्रत्येक सरकारी कार्यालयले यस मन्दिरको पहिला र अहिलेको तस्वीर राख्नुपर्र्ने सुझाव दिनुभयो । मन्त्री अधिकारीले जनस्तरको आयआर्जनमा टेवा पुग्ने गरी स्थानीयस्तरबाट पर्यटन प्रवद्र्धनको कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सम्पदाको पुनःनिर्माण छिटो गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । चाँगुनारायण–४ का वडाध्यक्ष बुद्धिलाल महर्जन यहाँको चौघेरा सत्तल पुनःनिर्माण नहुँदा तीर्थयात्रीलाई बस्ने ठाउँ नभएको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहालले काठ अभावका कारण पुनःनिर्माणमा समस्या आइरहेको जानकारी दिनुभयो । भूकम्पले भत्किएका मन्दिरको पुनःनिर्माण सम्पन्नपछि सरकारी पूजासहित मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले तान्त्रिक एवं धार्मिक विधिअनुसार क्षमा पूजा गरिएको थियो । (रासस)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.