साउन ३०, काठमाडौं । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रश्ताव राख्नुभएको थियो । सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गर्नुभयो । त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी दिनुभयो ।
कार्यदलको निरन्तरको सक्रियतापछि टिआरसी निष्कर्षमा पुगेको हो । विधेयकमा मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रुपमा क्रूरतापूर्वक गरिएको हत्या राखिएको छ । यसैगरी, घटी सजायको सन्दर्भमा महान्यायाधिवक्ताले ७० देखि ७५ प्रतिशत कम सजायको सिफारिस गर्न सक्ने संशोधित विधेयकमा छ।
अब यो विधेयकलाई केही दिनपछि माथिल्लो सदन राष्ट्रियसभाले पनि पारित गर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणित गरेपछि यो विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउँछ । विधेयकको कार्यान्वयनसँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त भई न्याय निरुपणको बाँकी काम सुरु हुनेछ ।
प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदहरुले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रुपमा दिन उहाँले आग्रह गर्नुभयो । प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।

