अन्तरिम सरकारको नेतृत्व गर्न स्वदेश आइपुगे नोबेल पुरस्कार विजेता युनुस
केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता
साउन २४, काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार बङ्गलादेश फर्किएका छन् ।
आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उनी स्वदेश फर्किएका हुन् । बिहिबार दिउँसो पेरिसबाट दुबई हुँदै ढाका पुग्नुभएका युनिसले बिहीबार साँझ नै नयाँ सरकार प्रमुखको रूपमा शपथ लिने सम्भावना सार्वजनिक गरिएको छ । सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।
युनसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफु घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए । युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्बासनमा बस्दै आएका थिए । सेना प्रमुख जनरल वाकर–उज–जमानले युनसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरे ।
यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडी बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गरे । ढाका बिमानस्थलमा पत्रकारहरुसंग युनसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउँदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताएका छन् ।

