जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

साउन २०, काठमाडौं। ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाउने गरिन्छ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ। ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ। विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.