प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने

साउन २, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो । संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्तौलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’ प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ ।

संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६.३ मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा छलफल चल्ने गरेका छन् । ओलीले यो बहसलाई समेत किनारा लगाउँदै सहज ढंगले अघि बढ्न तुरुन्तै विश्वासको मत लिन चाहेको एमालेले बताएको छ ।

यसैगरी एमालेले सत्तापक्षको मूख्य सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार पत्र थमाउँदै बर्तौलालाई उक्त जिम्मेवारी दिएका हुन् । बर्तौलाले अब संसदमा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका खेल्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.