गुणस्तर कम सामग्री राखेर निर्माण कार्य गरेमा कारवाहीः प्रधानमन्त्री

असोज ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार स्वीकार्य नहुने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न आग्रह गरे ।  उनले व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने स्पष्ट गरे ।

व्यवसायीको हितमा मात्र नभई समग्र जनताको काम गर्न आग्रह गर्दै उनले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही हुने दृढता व्यक्त गरे । उनले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गरे। उनले कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको बताए ।  संविधान जारीपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ प्रवेश गरेको अवस्थामा सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्ने प्रधानन्त्रीको आग्रह थियो ।

महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भौतिक पूर्वाधारलाई अलग राखेर समृद्धि हुन नसक्ने भन्दै समयमा गुणस्तरीय निर्माण नहुनुमा व्यवसायीलाई मात्र दोषी ठहर्याउन नहुने बताए । उनले सार्वजनिक खरीद ऐनमा र मुलुकी अपराध संहिता, २०७४ मा रहेका कतिपय दफालाई व्यावहारिक बनाइनुपर्ने र संशोधन गर्नुपर्ने माग गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.